मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दै

रुपन्देही खबर , २२९  पटक हेरिएको

काठमाडौं, साउन ३१

एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो ।

गत साता काठमाडौंमै भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई पराजित गर्दै मोहन बगानसँगको भेट पक्का गरेको हो । मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो ।यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ । प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ ।

मोहन बगान भारतको बलियो टोली भए पनि जितकै लागि खेल्ने मछिन्द्रका प्रशिक्षक किशोर केसी र कप्तान विशाल श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति: २०२३-०८-१६ , समय : ०८:४८:३० , १ वर्ष अगाडि