पश्चिम नवलपरासीमा स्थानीय न्यायीक समितिमा मुद्दा बढ्दो

प्रकाश न्यौपाने , २६६  पटक हेरिएको

नवलपरासी,भदौ २८

पश्चिम नवलपरासीमा स्थानीय तहहरुको न्यायीक समितीमा मुद्दा दर्ता बढेको देखिन्छ । जिल्लामा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरि ७ वटा स्थानिय तहहरु प्रतापपुर गाउपालिकामा सबै भन्दा बढी मुद्दा दर्ता भएको छ ।

प्रतापपुर गाँउपालिकामा गत आर्थिक वर्षमा २ सय २५ वटा मुद्दाहरू दर्ता भए । जस मध्य १ सय ८७ वटा मुद्दाहरू निरोपण भएको र ३८ वटा प्रक्रियामा रहेको गाउँपालिकाका न्यायीक समिति संयोजक मान कुमारी चौधरीले जानकारी दिनु भयो । उहाँ भन्नुहुन्छ -“धेरै मुद्दाहरु छलफलबाट नै समाधान भएका छन कतिपय जटिल मुद्दाहरु अदालतसम्म पनि पुगेका छन ।”

जिल्लाको पाल्हिनन्दन गाउपालिकामा सबै भन्दा कम मुद्दा दर्ता भएको देखिन्छ । आर्थिक बर्षको तथ्यांक हेर्दा पाल्हिनन्दन गाउँपालिकाले २८ प्रतिशत मात्र मुद्दाहरुको निरोपण गरेको छ । गत आ.व. मा पाल्हिनन्दन गाउँपालिकाको न्यायीक शाखामा दर्ता भएको कुल ६८ वटा मुद्दाहरू मध्ये जम्मा १९ वटा मुद्दा निरोपण भएको छ । स्थानीय सरकार सञ्चालन ऎन २०७४ को दफा ४७ को उपदफा १ मा अनुसार दर्ता भएका २३ वटा मुद्दा मध्य जम्मा ८ वटा निरोपण भएको र १५ वटा बाकी रहेका छन । दफा ४७ को उपदफा २ मा दर्ता भएको ४५ वटा मुद्दा मध्य जम्मा ११ वटा निरोपण गरिएको र ३४ वटा बाकी रहेको न्यायीक शाखाका कर्मचारी डब्लु यादवले बताउनु भयो ।

बर्दघाट नगरपालिकामा गत आर्थिक वर्षमा १ सय ३० वटा मुद्दाहरू दर्ता भए । जस मध्य ९० वटा मुद्दाहरू निरोपण भएको, ९ वटा मुद्दाहरू अदालत पठाइएको र ३१ बाकी रहेको बर्दघाट नगरपालिकाका न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख रुदप्रकाश उपाध्यायले जानकारी दिनु भयो ।

सरावल गाँउपालिकामा गत आर्थिक वर्षमा १ सय ४० वटा मुद्दाहरू दर्ता भएका छ्न । जसमध्य ४५ वटा मुद्दाहरू निरोपण भएको, १८ वटा मुद्दाहरू अदालत पठाइएको, ५ वटा फाइल बन्द गरिएको र ७२ वटा प्रक्रियामा रहेको सरावल गाउँपालिकाका न्यायीक समिति संयोजक तथा उपाध्यक्ष वासमती हरिजनले जानकारी दिनु भयो ।

सुस्ता गाउपालिकामा गत आर्थिक वर्षमा ४२ वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य २४ वटा मुद्दाहरू निरोपण भएको, ५ वटा मुद्दाहरू अदालत पठाइएको, ३ वटा फाइल बन्द गरिएको र १० वटा प्रक्रियामा रहेको न्यायीक समिति संयोजक तथा उपाध्यक्ष गिता चौधरीले जानकारी दिनु भयो ।

रामग्राम नगरपालिकामा गत आर्थिक वर्षमा ५१ वटा मुद्दाहरू दर्ता भए । जस मध्य ४५ वटा मुद्दाहरू निरोपण भएको र ६ वटा प्रक्रियामा रहेको नगरपालिकाका न्यायीक शाखामा कार्यरत राम जीले जानकारी दिनु भयो ।

सुनवल नगरपालिकामा गत आर्थिक वर्षमा ५७ वटा मुद्दाहरू दर्ता भएका थिए जस मध्य ४९ वटा मुद्दाहरू निरोपण भएको,२ वटा फाइल बन्द गरिएको र ६ वटा प्रक्रियामा रहेको सुनवल नगरपालिकाका न्यायीक शाखामा कार्यरत बन्दुराज पौडेलले जानकारी दिनु भयो ।

नवलपरासी जिल्लामा जग्गा सम्बन्धी, लेनदेन, घरायसी, आपसी लेनदेन लागयतका मुद्दा बढी रहेको पाइएको छ।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : १९:१५:२५ , १ वर्ष अगाडि