आजदेखि यमपञ्चक सुरु,आज काग तिहार

रुपन्देही खबर , २०९  पटक हेरिएको

भैरहवा,कार्तिक २५

नेपालीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन। आजदेखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ।

यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमबार परेको छ ।

गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधबार परेको छ।

बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-११ , समय : १२:१८:२३ , १२ महिना अगाडि