पौष २३ देखि तिलोत्तमामा चक्र विज्ञान सप्ताह कार्यक्रम हुने

इन्दिरा बिश्वकर्मा , १८८  पटक हेरिएको

भैरहवा,मंसिर २०

सात चक्रहरुको जागरणद्वारा स्वस्थ, शान्त र समृद्ध जीवनका लागीे रुपन्देहीको तिलोत्तमामा चक्र विज्ञान सप्ताह कार्यक्रम हुने भएको छ । जीवन विज्ञान लुम्वीनी प्रदेशको आयोजनामा पौष २३ देखि २९ गते सम्म तिलोत्तमा ३ शान्तिचोक रोड ( योगिकुटी) स्थित दरबार लेन पार्टी प्यालेसमा चक्र विज्ञान कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।

मानव शरीरको मेरुदण्डभित्र सुक्ष्म शरीरमा रहने उर्जाकेन्द्रहरुको स्रोत स्वस्थ शरीर, सक्रिय एवंम व्यवस्थित जीवनशैलीबाट भौतिक उन्नति प्रगति गराउने स्वास्थ्यसंग संबन्धित मुलाधार चक्र, खुसी उमङ्ग तथा आनन्दको केन्द्र स्वाधिष्ठान चक्र, आत्मविश्वास, इच्छाशक्ति , सौर्य तथा साहसको केन्द्र मणिपुर चक्र, प्रेम, करुणा, श्रद्धाभक्ती, सम्बन्ध र सहकार्यको केन्द्र अनाहद चक्र, अध्ययन अनुसन्धान एवं आन्तरिक चेतनासंग सम्बन्धित सकारात्मक सोच,उच्च विचार, वुद्धि विवेक तथा ज्ञानको केन्द्र विशुद्धि चक्र, दृढ संकल्पशक्तिको केन्द्र आज्ञा चक्र र ब्रह्मज्ञान, बुद्धत्व अर्थात् पूर्णताको केन्द्र सहश्रार चक्र गरी मानव शरीरमा अवस्थित यी सातओटै चक्रहरुलाई जागृत गरी पूर्ण मानव निमार्ण गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गर्न लागिएको जीवन विज्ञान लुम्वीनी प्रदेशका संयोजक केशव प्रसाद खनालले जानकारी दिनुभएको छ ।

चक्र विज्ञान सप्ताह कार्यक्रमको सहजीकरण जीवन विज्ञान विशेषज्ञद्वय रमेश नेपाल र एल्.पि. भानु शर्माले गर्नुहुने उहाँले बताउनुभयोे ।

जीवन विज्ञान लुम्वीनी प्रदेशका सम्पूर्ण शिक्षक प्रशिक्षकहरुको उत्साहजनक जिम्मेवारीका साथ ५०० जना सहभागीहरुको लक्ष्य राखिएको सात दिवसीय चक्र विज्ञान कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल एवं सु- सम्पन्न गर्नका लागि तिव्र तयारी भइहेको बताउँदै उहाँले यस प्रदेशका सबै जिल्लाहरूबाट आउनुहुने सहभागीहरूलाई सुरक्षित आवास तथा स्वस्थ र स्वादिष्ट भोजनको व्यवस्था गरिनुका साथै कार्यक्रममा सहभागिताका लागि भौतिक तथा अनलाईन फारामको व्यवस्था गरिएको हुँदा समयमै फाराम भर्न समेत अनुरोध गर्नुभयो ।

यस्तै,जीवन विज्ञान लुम्वीनी प्रदेशका पुर्व संयोजक एंवम् सल्लाकार हरि प्रसाद पोखरेलले मानव शरीररुपी जीवनऊर्जा कुण्डलिनी शक्तिको रूपमा नाडीहरुबाट बगेर सात चक्रहरूको माध्यमबाट शरीर र मनमा प्रवेश गरी व्यक्तिको शक्ति, गुण र प्रतिभाको रूपमा अभिव्यक्त हुने चक्रहरु यदि अविकसित, अस्वस्थ एवं असन्तुलन रहेमा विभिन्न प्रकारका रोग,नकारात्मक सोच,डर,आलस्य र गलत आदतहरुको दलदलमा परी अहिलेको मानव समाज जीवनका विभिन्न क्रियाकलापहरुलाई ब्यवस्थित रुपले अगाडि बढाउन नसक्दा तनावपुर्ण जीवनशैली अपनाउन बाध्य रहेको बताउदै उहाँले यसकारण चक्र विज्ञान कार्यक्रमको अत्यन्तै महत्व रहेको जानकारी दिनुभयो ।

उहाँले मानव जीनवको मुल केन्द्र नै चक्र भएकाले लुम्वीनी प्रदेशका समाजसेवी,शिक्षाप्रेमी,उद्योग ब्यवसायी,कर्मचारी,पत्रकार लगाएत सम्पुर्ण आमाबुवा,दाजुभाई,दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भई लाभ लिनुहुन आग्रह समेत गर्नुभएको छ ।

जीवन विज्ञान एक आध्यात्मिक प्रयोगशाला हो । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरुलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्ने उद्देश्यका साथ जीवन विज्ञानले स्वादेशसंगै हाल विश्वको ६५ ओटा देशहरूमा आध्यात्मिक सचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ।

प्रकाशित मिति: २०२३-१२-०६ , समय : ०९:२४:५९ , ३ महिना अगाडि