नवलपरासीमा छात्रा कुट्ने शिक्षक यादव प्रहरी नियन्त्रणमा

रुपन्देही खबर , ४८५  पटक हेरिएको

नवलपरासी,मंसिर २१

पश्चिम नवलपरासी सरावलमा ७ बर्गदवामा रहेको बर्दघाटे कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । उक्त विद्यालयका सहायक प्रिन्सिपल समेत रहेका यादवलाई बुधवार बिहान उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धि कसुरमा मुद्धा दायर गरी अनुसन्धान सुरु गरेको छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषि ठहर भएमा एक वर्ष सम्म कैद र ५० हजार जरिवानाको व्यवस्था रहेको छ । कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले पलास्टिकको पाईपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेका थिए । कुटपिट बाट बालिकाको शरिरमा रातो डाम(धब्बा) बसेको छ । सोमबार बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले आफ्नै मोटरसाईकलमा बसाएर विद्यालय ल्याई पाईपले कोठा थुनेर कुटपिट गरेको अभिभावकले बताएका छन् ।

घटना पछि विद्यालयमा वडा अध्यक्ष हायात खाँ धुनियाँ सहित स्थानियको टोलीले हिजोनै तालाबन्दी गरेको थियो । यो घटनाको सर्वत्र विरोध भईरहेको छ । सरोकारवालाहरुले दोषिमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति: २०२३-१२-०७ , समय : ०६:१३:५९ , ११ महिना अगाडि