उर्मिला यादव यात्री , १६८ पटक हेरिएको

भैरहवा, बैशाख १९
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउनु भएको छ । उहाले मुलुकमा निरकुंशता हटेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताउनु भएको छ । जसपा नेपाल जिल्ला कार्यसमिती रुपन्देहीको एकताको प्रथम जिल्ला अधिवेशनको शुक्रवार भैरहवामा उद्घाटन गर्नू हुदै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले अवस्था नबदलिएको जिकिर गर्नु भयो ।
उहाले शासन सत्ता बदल्नका लागी समयमा नै जनता जागरुक हुन आवश्यक भएको बताउनु भएको छ । उहाले आफनो अधिकार र सत्ताको लागी आफनो शक्तिको स्थापना गरे मात्र देशमा परिर्वतन ल्याउन सकिने जोड दिनु भयो । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको यादवले जनताहरु सचेत नहुदा र चुनावमा गल्ती गरेका कारण देशमा परिवर्तन आउन नसकेको जिकिर गर्नु भयो । उहाले संबिधान नै शोषित, उपेक्षित जनताको बिरुद्धमा रहेकोले यो समुदायको अधिकार सुनिश्चित नभएको बताउनु भयो । उहाले संबिधानमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताउनु भएको छ । जसले गर्दा नै संबिधान नै बदल्नुपर्ने यादवको भनाइ छ ।
उहाले मधेशको बिकासमा राज्यको न्यून लगानी भएको बताउदै जनसंख्या र मानव बिकास सुचाकंकको आधारमा बिकासको बजेटमा लगानी गर्न आग्रह गर्नु भएको छ । उहाले मधेशको बिकास भए मात्र देशको बिकास हुन सक्ने उल्लेख गर्दै विकासको मार्ग दक्षिणबाट सुरु गरी उत्तर पुगेकोले समानुपातिक बिकास हुन नसकेको जिकिर गर्नु भयो । अध्यक्ष यादवले शासक वर्ग जसले सयौँ वर्षदेखि शोषण, भेदभाव र उपेक्षा गर्दै आएका छन्, चुनावमा उनीहरूलाई भोट दिएर सत्तामा पु¥याएर जनताले गल्ती गरिरहेको उल्लेख गर्नु भयो ।
यस्तै गरी जसपा नेपालका महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको बताउनु भएको छ । उहाले वर्तमान सरकार सङ्घीयता प्रति इमानदार नभएको जिकिर गर्दै संविधान संशोधन र पुनर्लेखन नभए आन्दोलनको तयारी गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एवम लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा वि.क., पार्टीका नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, जसपा नेपाल नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, चेम्बर अफ कर्मश रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, मैत्री समाज रुपन्देहीका अध्यक्ष अमर कुमार झा, रुपन्देही इन्चार्ज मोहम्मद अलि, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज बिरेन्द्र सी, लगायत बोल्नु भएको थियो । जसपा नेपाल जिल्ला कार्यसमिती रुपन्देहीको एकताको प्रथम जिल्ला अधिवेशन जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पनन भएको थियो ।
प्रकाशित मिति: २०२५-०५-०३ , समय : ००:३६:२९ , १ हप्ता अगाडि