उर्मिला यादव यात्री , २२५ पटक हेरिएको

भैरहवा, साउन २३
संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीको सियारीमा बुधबार देशको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । तराई–मधेश केन्द्रित सात राजनीतिक दल सहभागी मोर्चाले रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई समर्थन गरेर अघि बढ्ने सहमति गरिसकेको जनाएको छ ।
जनजागरण अभियानमा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताहरुलाई आगामी उपनिर्वाचनमा सचेत रहन विशेष आग्रह गर्नुभएको छ। उहाँले देशका जनतामाथि हुने अन्याय, अत्याचार र शोषण गर्ने दलहरूलाई अब सहन नहुने बताउँदै, पहिलेभन्दा बढी सचेत भएर मतदान गर्न सबैलाई अनुरोध गर्नुभयो । महतोले यो उपनिर्वाचनलाई देशको भविष्य र आफ्नो अस्तित्वको लडाइँको रूपमा चित्रण गर्दै मोर्चालाई कुनै हालतमा जिताउन आवश्यक रहेको औंल्याउनुभयो। उहाँले यस उपनिर्वाचनलाई २०८४ को राष्ट्रिय जनमत संग्रह जस्तै महत्त्वपूर्ण घटना मान्दै, पहिचानवादी मुद्दा बोकेका दलहरूलाई अहिलेका ठूला तीन पार्टीहरूले निर्वाचनमा कमजोर पार्न खोजिरहेको आरोप लगाउनुभयो। एहाले मधेशी, थारु,जनजाती अल्पसंख्यक तथा सिमान्तकृत समुदायहरूले एक जुट भएर आफ्नो अधिकार जोगाउनुपर्ने उहाँको भनाइ छ । महतोले वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त र आफ्ना नेता तथा मन्त्रीहरूलाई मात्र संरक्षण गर्ने भएकोले सो को आलोचना गर्दै यसलाई ‘अप्राकृतिक गठबन्धन’ तथा ‘काण्डै काण्डको सरकार’ समेतको संज्ञा दिनुभएको छ । उहाँले मतदाताहरूलाई लोकतन्त्र र राष्ट्रिय हितका लागि जागरुक हुन र सचेत निर्णय गर्न आह्वान गर्नुभयो ।
यस्तै गरी नाउपाका संरक्षक रेशम चौधरीले सबै कमिटीहरूलाई सक्रिय बनाउन र बस्ती–बस्ती पुगेर जनसम्पर्क गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले आगामी उपनिर्वाचन क्षेत्र नम्बर ३ बाट आफूले उम्मेदवार उठाउने घोषणा पनि गर्नुभयो। गठबन्धनलाई स्वार्थका लागि नभई साँच्चिकै सहकार्य र हातेमालोको माध्यमबाट अघि बढेको भन्दै अब धोका नहुने विश्वास व्यक्त गर्नुभयो । चौधरीले देशका वर्तमान शासकहरूका लागि कडा खबरदारी समेत गर्नुभएको छ । उहाँले आफूले कहिल्यै न्याय नपाएको बताउदै सधैं अन्यायको भुमरीमा परिरहेको गुनासो गर्न‘ु भएको छ । चुनाव जितेर कांग्रेस, एमाले र माओवादीको जमानत जफत गर्दा पनि बारम्बार जेल सजाय भोग्नु परेको बताउँदै, आफु अन्यायमा परे पनि आफ्ना कार्यकर्ताहरूलाई कहिल्यै अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मधेशी र थारुको मिलन हुनै सक्दैन भन्नेहरुको लागि अबको रुपन्देही ३ को निर्वाचनले देखाईदिने दावी गर्नु भएको छ ।
यस्तै गरी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश सबैको भए पनि राज्य सबैको हुन नसकेको गुनासो गर्नुभएको छ। उहाँले मधेशी, जनजाति, महिला, थारु र मुस्लिम समुदायका लागि राज्य अझै आफ्नै नबनेको भन्दै, “देश हामी सबैको हो, तर राज्य पनि हामी सबैको हुनुपर्छ भन्ने लडाइँ नै हाम्रो हो” भनेर स्पष्ट पार्नुभयो । अध्यक्ष त्रिपाठीले राज्य पुनर्संरचनाको प्रक्रियामा सबैको ध्यान नपुग्दा राज्यको चरित्र जस्ताको त्यस्तै रहन पुगेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार, सबै समुदायको समान सहभागिता र पहुँच नभएसम्म राज्यको स्वरूप समावेशी बन्न सक्दैन। चुरे क्षेत्रको संरक्षणको महत्वबारे जोड दिँदै त्रिपाठीले चुरेको समाप्ति नै सभ्यताको समाप्ति हुने चेतावनी दिनुभयो। उहाँले मुलुकमा चुरे विनाश हुने खालको कुनै कानून बनेमा त्यसविरुद्ध विद्रोह हुने स्पष्ट सन्देश दिनुभयो। “चुरे मात्र भूगोल होइन, हाम्रो अस्तित्वको आधार हो,” उहाँले भन्नुभयो। आगामी चुनावबारे कुरा गर्दै अध्यक्ष त्रिपाठीले मोर्चाले संयुक्त रूपमा साझा उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो। उहाँले त्यो उम्मेदवार नेपाली राजनीतिमा ‘थर्मामिटर’को भूमिका खेल्ने र देशको राजनीतिक तापक्रम र जनताको मनोवृत्ति मापन गर्ने उल्लेख गर्नु भयो ।
यस्तैगरी जनता समाजवादी पार्टीका महासचिव रामकुमार शर्माले मोर्चा गठनको औचित्यबारे बताउँदै सरकारमा प्रतिपक्षको स्पष्ट पहिचान हुने वातावरण सिर्जना भएको बताउनु भएको छ । उहाले मोर्चाले मात्रै सरकारलाई प्रभावकारी चुनौती दिन सक्ने दाबी गर्दै यसको असर सिंहदरबारसम्म पुगेको बताउनु भयो । सरकारले बजेट बनाउँदा देशको समग्र हितलाई विचार नगरी प्रधानमन्त्री र मन्त्रीहरूको क्षेत्र विकासमा केन्द्रित बजेट तयार गरेको भन्दै शर्माले सरकार व्यक्तिवाद र निरंकुश तरीकाले अघि बढेको स्पष्ट पार्नु भयो । मधेश तराई क्षेत्रका जग्गाहरू पुनःवास, राप्ती परियोजना, सुकुम्वासी लगायतका नाममा वितरण भइरहेको विषयलाई लिएर उहाले भूमि सम्बन्धि विधेयक देश र मधेशको हितमा नभएको बताउनु भयो । यस विधेयकप्रति जसपाले सधैं विरोध गर्दै आएको उहाले उल्लेख गर्नु भयो । शर्माले अबको लडाई केवल राजनैतिक मात्र नभई अस्तित्वको लागि भएको बताउनु भएको छ । आदिवासी, थारु, मुस्लिम र मधेशीहरूका सवालमा समयमै सोच्नुपर्ने र मधेशमै बस्ने वा विस्थापित हुने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकताको जोड दिनु भएको थियो ।
नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष सरोज सिंह चौधरीको स्वागत मन्तब्य रहेको जागरण अभियान कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष बृशेष चन्द्र लाल कर्ण, लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे लगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष तुल्सी प्रसाद थारुले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०८-०८ , समय : १२:३७:३९ , ५ दिन अगाडि