रुपन्देही खबर , ५९५ पटक हेरिएको

भैरहवा, असोज ४
रुपन्देही जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिपेन्द्र बुढापृती पुनः निर्वाचित हुनु भएको छ । आज सम्पन्न जिल्ला अधिवेशनले बुढापृतीलाई बहुमतका आधारमा आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा ओमप्रकाश थापा, कोषाध्यक्षमा सुशान्त पाण्डे निर्वाचित हुनु भएको छ । अधिवेशनले सदस्यमा अन्तीमा पाण्डेय, राजेश सहानी, राकेश यादव, नवराज बस्नेत र कृष्ण लामटाङ्गेलाई निर्वाचित गरेको छ ।
जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–१३ का वडा अध्यक्ष सोमबहादुर गुरुङले खेलकुद क्षेत्रले जिल्लाको पहिचान बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै “तेक्वान्दो मार्शल आर्ट मात्र नभई शारीरिक, मानसिक र सामाजिक विकासको आधार भएको बताउनु भएको छ । उहाले यस संघले अनुशासित खेलाडी उत्पादन गर्दै जिल्लाको गौरव बढाउने काम गर्दै आएको बताउदै निर्वाचित नेतृत्वले खेलकुद क्षेत्रमा अझै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै गरि नव–निर्वाचित अध्यक्ष दिपेन्द्र बुढापृतीले खेलकुदलाई व्यवस्थित, अनुशासित र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले “तेक्वान्दो रुपन्देहीको गौरवपूर्ण खेल भएको उल्लेख गर्दै आफुले यस संघलाई सबैको साथ र सहकार्यमा अझै प्रभावकारी बनाउने प्रतिबद्धता गर्नु भएको छ । उहाले प्रतिभावान खेलाडीहरूको पहिचान, तालिम र अवसर सृजना गर्दै जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु आफ्नो पहिलो प्राथमिकता हुने जोड दिनु भयो ।
त्यस्तै, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कोसिस बहादुर खडकाले संघको सक्रियता र नेतृत्वको भूमिकालाई सकारात्मक रूपमा मूल्यांकन गर्दै “रुपन्देही तेक्वान्दो संघले विगतमा उत्कृष्ट काम गरेको बताउनु भएको छ । उहाले यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता प्रशंसनीय भएको जोड दिदै निर्वाचित नेतृत्वले त्यसलाई थप उचाइमा पुर्याउने बिश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष ओमप्रकाश थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष दिपेन्द्र मान श्रेष्ठ, सिद्धार्थनगर–१२ का जनप्रतिनिधि समीर थापा लगायतले बोल्दै खेलकुद क्षेत्रलाई अझ सबल बनाउनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिव राकेश यादवले गर्नुभएको थियो ।
अधिवेशनलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप कुमार यादव, अधिवक्ता पुष्पा लक्ष्मी श्रेष्ठ तथा अधिवक्ता सुनिल कुमार त्रिपाठी रहेको तीन सदस्यीय निर्वाचन मण्डलले सम्पन्न गराएको थियो । उद्घाटन सत्रमा लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष पराग दास गोर्खाली, जिल्ला तेक्वान्दो संघका सल्लाहकार ओम श्रेष्ठ, प्रकाश बहादुर खड्का, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, फुटबलका पूर्व राष्ट्रिय खेलाडी कमल जीसी, बेलहिया गाउँ समाजका पूर्व अध्यक्ष मोहन सिंह शाही, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्र कान्त आचार्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जिल्ला अवस्थित विभिन्न डोजाङका प्रमुख, साधारण सभा सदस्य तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो अधिवेशन सिद्धार्थनगर नगरपालिका–१२ अवस्थित युनिक ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको हो ।
–
प्रकाशित मिति: २०२५-०९-२० , समय : २१:२०:०३ , १ हप्ता अगाडि