रुपन्देही खबर , १२१ पटक हेरिएको

काठमाण्डौ,असोज २६
आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ । नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा बलिङ गर्न आएका दीपेन्द्रले पहिलो ३ बलमा ७ रन दिए चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए भने पाँचौँ बलमा हेदर अली र अन्तिम बलमा जाहिद अली रन आउट भए ।
यूएईका आलिशान शरफुले ५८, ध्रुव पराशरले ३२ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ३ तथा सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए । यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनायो ।
नेपालका आसिफ शेखले सबैभन्दा धेरै ४७ बलमा ५१ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १/१ विकेट लिए । यो जीतसँगै नेपालले सुपर-६ मा २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ खेलमा ४ अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यूएई २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपालले अब सुपर–६ मा भोलि कतारसँग खेल्नेछ । यस्तै नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर–६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
प्रकाशित मिति: २०२५-१०-१२ , समय : २१:५५:४९ , १ दिन अगाडि