रुपन्देही खबर , ७९ पटक हेरिएको

काठमाण्डौ,असोज २७
आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।
हिजोको खेलमा नेपालले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा तीन विकेट गुमाएर एक रन मात्र जोड्न सक्यो । नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा चार अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।
यूएई दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । यस्तै नेपालले पर्सि बुधवार ओमान र आउँदो शुक्रवार सामोआसँग खेल्नेछ । सुपर–६ मा शीर्ष तीन मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
प्रकाशित मिति: २०२५-१०-१३ , समय : ०९:००:३५ , १६ घन्टा अगाडि