मधेश प्रदेश सरकारबाट लोसपाको समर्थन फिर्ता

रुपन्देही खबर , ५६  पटक हेरिएको

फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि मधेश प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेकोमा सिंहलाई समर्थन गरेको दल लोसपा नेपालले पनि समर्थन फिर्ता लिएको हो । लोसपाबाट मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनेकी रानी शर्मा तिवारीले पनि राजीनामा दिनुभएको छ । योसँगै सिंह नेतृत्वकाे मन्त्रिमण्डलका सबै सदस्यहरू सरकारबाट बाहिरिएका छन् ।

यसअघि नेपाली कांग्रेस, नकेपा एमाले र मुख्यमन्त्री सिंहको पार्टी स्वयंले समर्थन फिर्ता लिई आफ्ना मन्त्री फिर्ता बोलाएका थिए । गएको भदौ २४ गते आन्दोलन हुँदा मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि पुनः पदमै बस्ने अडान लिएपछि सिंहकै दल जनमतले पनि समर्थन फिर्ता लिएको हो ।

कांग्रेस, एमाले, जनमतलगायतले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दाबी पेश गरेका छन् । मधेश प्रदेशसभा १ सय ७ सदस्य रहेकामा १ सय ५ जना सांसद छन् । नयाँ सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । दाबी पेश गर्ने दलहरूले ५८ जना सांसदको समर्थन रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२५-१०-१३ , समय : २१:०६:३५ , ७ घन्टा अगाडि