रुपन्देही खबर , ९० पटक हेरिएको
 
भैरहवा,कार्तिक १४
नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)–२०२५ क्रिकेटमा सहभागी हुन लागेका खेलाडीलाई रुपन्देहीको रोहिणी गाउँपालिकाले सम्मान गरेको छ । यही कार्तिक १५ गतेदेखि सुरु हुन लागेको एनएसपीएलमा सहभागी हुन लागेका खेलाडीलाई सम्मान गरेको हो ।
बिहीबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भगवती न्यौपानेले खेलाडीलाई सम्मान गर्नुभएको हो । उहाँहरुले रोहिणीमा स्थायी बसोबास गर्ने खेलाडीहरु एनएसपीएलमा छनौट हुनु सम्पूर्ण गाउँपालिकाबासीको लागि पनि गर्वको विषय भएको बताउनुभयो । खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी गाउँपालिकाको गरिमा अझ उचो बनाउने भन्दै उहाँहरुले शुभकामना दिनुभयो ।
रोहिणी गाउँपालिका–४ सेमरहवाका रुपेश कुर्मी लुम्बिनी राईडर्सबाट खेल्दै हुनुहुन्छ । उहाँ उक्त टीमको क्याप्टेन समेत हुनुहुन्छ । त्यस्तै रोहिणी–१ श्रीरामपुरका इन्द्रजीत यादव (धिरु) कर्णाली हाईल्याण्डर्सबाट खेल्ने स्थानीय श्यामवली धवलले बताउनुभयो ।
डिजिआर स्पोट्र्सको आयोजनामा पहिलोपटक हुन लागेको टेनिस बल नाइट क्रिकेट मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । दश ओभर (टी १०) को फम्र्याटमा खेलाइने यस प्रतियोगिता कूल ७ टोलीको सहभागिता रहनेछ ।
प्रकाशित मिति: २०२५-१०-३१ , समय : १२:०९:४० , १४ घन्टा अगाडि
