लुम्बिनी सांस्कृतिक वडा नम्बर ६ को वडा कार्यालय भवन उद्घाटन

उर्मिला यादव यात्री , १०२  पटक हेरिएको

लुम्बिनी, कार्तिक ३०

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नइमुलहक मुसलमानको अध्यक्षता तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा आइतबार एक कार्यक्रमका बिच कार्यबाहक नगरप्रमुख हरिजनले भवनको उद्घाटन गर्नु भएको हो ।

भवनको उदघाटन गर्नु हुदै प्रमुख अतिथि हरिजनले लुम्बिनी सांस्कृतिक नगरपालिकाले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन निरन्तर काम गरिरहेको बताउनु भएको छ । उहाले वडा नं ६ को प्रशासनिक भवनको निर्माणले यहाँका नागरिकले सरलीकृत र प्रभावकारी सेवा लिन सक्ने बताउदै स्थानीय विकासका काममा वडाको टीम र वडावासीको एकतापूर्ण सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नु भयो ।

हरिजनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउदै पूर्वाधार निर्माण प्राथमिकतामा पारेका जोड दिनु भयो । उहाले छिटटै नै नगरपालिकाको भवन समेत बन्ने बिश्वास दिलाउदै नगरप्रमुखको प्रयासमा अधुरा रहेका ठुला ठुला योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले लुम्बिनीमा बसर्पाक, ग्लोबल पार्क लगायतको ब्यवस्थापन संगै नगरले लुम्बिनीको फोहोर ब्यवस्थापन गर्दै सरसफाई केन्द्र, हरितपार्क समेत निमार्णाधिन अवस्थामा रहेको बताउदै लुम्बिनीको बिकासमा नगरपालिका एक कदम अगाडी बढेर काम गर्ने जोड दिनु भयो । उहाले जनताको प्रत्यक्ष बिकासमा नगरले नया योजना बनाएर काम गर्ने प्रतिबद्धता गर्नु भयो ।

यस्तै गरी नगरको प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नगरपालिकाले नगरको बिकासको लागी बिभिन्न कामहरु गरिरहेको बताउदै नगरपालिकाले सुशासन, पारदर्शिता र प्रभावकारी प्रशासनलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नु भयो । उहाले मंसिर महिना भित्रमा नै पालिकाको प्रशासनिक भवनको शिलन्यास गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले महिलबार देखि झुलनीपुर सडक खण्ड , मोग्लहादेखि धुपही सडक खण्ड डेढ महिना भित्रमै सम्पन्न गर्ने गरी काम भैरहेको बताउनु भएको छ । उहाले नगरपालिकाले गर्ने काममा यहाका स्थानियले निगरानी गर्दै सुझावसल्लाह समेत दिन आग्रह गर्नु भएको छ । उहाले नगरको बिकास र सुन्दरीकरणमा लुम्बिनी वासीले साथ र सहयोग गर्ने बिश्वास गर्नु भएको छ । ज्ञवालीले वडा नम्बर ६ वडा कार्यालय निर्माण सम्पन्न भएसंगै सेवा प्रवाह अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको बताउनु भयो ।

यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नइमुलहक मुसलमानले बोल्दै वडा नं ६ का सबै वडावासीका लागि आज अत्यन्तै खुसीको दिन भएको बताउदै अबदेखि प्रशासनिक सेवा–सुविधा व्यवस्थित भवनबाट प्रवाह हुने बताउनु भएको छ । उहाले यो भवनले नागरिकलाई समयमै र प्रभावकारी सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्दै वडा नम्बर ६ मै आधाभुत स्वास्थ्य चौकी समेत संचालनमा आएकोले वडाले नागरिकको सेवा सुबिधामा प्रतिबद्ध भएर काम गर्ने उल्लेख गर्नु भयो ।

वडाध्यक्ष मुसलमानले वडा नम्बर ६ मा १५ शैयाको अस्पताल बन्दै गरेको र यस्तै गरी वडा भित्र धेरै बिकासका कामहरु भैरहेको जानकारी दिनु भयो । उहाले शिक्षा नै मानव जिवनको अमुल्य ज्योती भएकोले वडा भित्रका बालबालिकाहरुलाई समयमै बिद्यालय पठाउन आग्रह गर्नु भएको छ । उहाले वडा नम्बर ६ ले भौतिक बिकास संगै मानवीय स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य कामहरु गर्ने प्रतिबद्धता गर्नु भएको छ ।


यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खुर्सेद आलमले बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकामा अधिकांश वडा व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएकाले यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको बताउनु भएको छ । उहाले नगरपालिकाले धेरै सकरात्मक कामहरु गरेको उल्लेख गर्दै नगरको बिकासमा सबैलाई हातेमालो गर्न आग्रह गर्नु भएको छ ।

तेनुहवा स्वास्थ्य चौकीका प्रमुख सोमनाथ शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका शिक्षा समिती सदस्य मोहम्मद इलिहास ,समाजसेवी अमरुद्धिन खां, बृजेश चौरासिया लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख, वडा सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, शाखा प्रमुख तथा कर्मचारीहरू, वडा सचिवहरू, स्वास्थ्य चौकी इन्चार्जहरु, विद्यालय तथा मदरसा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीय वडावासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-११-१७ , समय : ०३:२९:०२ , ५ घन्टा अगाडि