जसपा रूपन्देहीद्वारा नव–निर्वाचित पदाधिकारी र लुम्बिनी राइडर्सलाई सम्मान

खेलकुद विकासमा दृढ प्रतिबद्धता

उर्मिला यादव यात्री , ८९  पटक हेरिएको

भैरहवा, मंसिर ५

जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति रूपन्देहीले लुम्बिनी प्रदेशका नव–निर्वाचित पदाधिकारी तथा एनएसपिएल कपका पहिलो विजेता लुम्बिनी राइडर्स लाई भैरहवामा एक कार्यक्रमका बिच सम्मान गरेको छ । जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य कैलाश गुरुंगको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका नव निर्वाचित पदाधिकारी एवम एनएसपिएल कप को पहिलो बिजेता लुम्बिनी राइडर्सलाई बिहीबार भैरहवामा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जसपा नेपालका केन्द्रीय सदस्य तथा संघीय संसदीय बोर्ड अध्यक्ष कैलाश गुरुंगले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिदै जसपा नेपाल का्रन्तिकारी पार्टी भएको बताउदै नेतृत्व तहमा आउनेले काम गरेर देखाउनु पर्ने जिकिर गर्नु भयो । उहाले “एनएसपिएल कपमा लुम्बिनी राइडर्सले प्राप्त गरेको विजय केवल एउटा ट्रफी उठाएर ठूलो फोटो खिचाउने क्षण मात्र नभई यो लुम्बिनी प्रदेशको सामूहिक आत्मबिश्वास भएको जोड दिनु भएको छ । गुरुंगले भन्नु भयो हामीले अनेक ठाउँमा सुन्छौँ—युवा विदेशतर्फ धकेलिँदैछन्, अवसर छैन, मार्ग छैन—तर आजको यो विजयले प्रमाणित गरिदियो कि क्षमता यहाँ छ, प्लेटफर्म दिएर हौसला बढाउन सके यहि माटोमा विश्वस्तरका उपलब्धि जन्मिन्छन्।

जसपा नेपाल सदैव युवा नेतृत्व, प्रतिभा र खेलकुद विकासलाई प्राथमिकतामा राख्ने बताउदै उहाले पार्टी राजनीति व्यवस्थापन मात्र भनइ समाज निर्माणको माध्यम पनि भएकोले समाज निर्माणमा खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण भएको जोड दिनु भयो ।


यस्तै गरी जसपा जिल्ला अध्यक्ष सियाराम यादवले जसपा रुपन्देहीले गरेको सम्मान लुम्बिनी प्रदेशको गौरवसँग जोडिएको बताउनु भएको छ । उहाले भन्नु भयो लुम्बिनी राइडर्सले कठिन प्रतिस्पर्धा जितेर प्रदेशको नाम उज्यालो पारे; यसले युवाको क्षमता र लगनशीलता कस्तो हुन्छ भन्ने स्पष्ट देखाएको छ।
राजनीतिले युवालाई मार्गदर्शन गर्नुपर्छ—अवसर दिनु, पहिचान बनाइदिने काम गर्नु, र उनीहरूको प्रतिभालाई मुल्याङ्कन गर्नु हाम्रो जिम्मेवारी हो ।
अध्यक्ष यादवले जसपा नेपाल रूपन्देहीले खेलकुदलाई राजनीतिक सीमाभन्दा माथि राखेर ‘प्रदेश–पहिचान’सँग जोडेर अघि बढाउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी लुम्बिनी राइडर्सका क्याप्टेन अहमद हुसेनले यो सम्मानले आफनो टिमलाई अत्यन्तै खुसी र हौसल मिलेको बताउनु भएको छ ।
उहाले यो सम्मान केवल मेरो व्यक्तिगत खुशी नभई टिमका सबै सदस्यहरूको पसिना, सामूहिक मेहनत र प्रदेशका जनताले दिएको आत्मबलको नतिजा भएको जोड दिनु भयो । क्याप्टेन हुसेनले भन्नु भयो “हामीले यो यात्रा धेरै संघर्षबाट सुरु गरेका थियौँ। मैदानमा जित्ने क्षण देख्नुअघि अनेक रात अभ्यासमै बिताएका छौँ। हामीलाई विश्वास छ—यदि प्रदेश र स्थानीय तहबाट निरन्तर सहयोग मिल्यो भने हामी आगामी वर्षहरूमा अझ ठूलो उपलब्धि ल्याउन सक्छौँ। खेलकुदलाई प्रदेशको पहिचान बनाउन हाम्रो टिम निरन्तर प्रयासरत रहने उहाले बिश्वास ब्यक्त गर्नु भयो ।

यस्तै गरी जसपा नेपालका केन्द्रीय सदस्य साबित्रा बि.क.ले नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिदै लुम्बिनी प्रदेशकै नेतृत्व लिनु अवसर संगै चुनौती पनि भएको बताउनु भएको छ । उहाले “युवाले गरेका उपलब्धिहरूलाई समयमै कदर गर्न सकिनु स्वस्थ समाजको पहिचान भएको जोड दिदै खेलकुदले चरित्र निर्माण अनुशासन र टोली भावना सिकाउने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले आज सम्मानित खेलाडीहरूले लेकदेखी तराईसम्मका युवालाई अवसर पाइयो भने हामी पनि गर्न सक्छौँ भन्ने संदेश दिएको बताउनु भएको छ । बि.क.ले जसपा नेपाल महिलालाई मात्र होइन, युवालाई पनि मूलधारमा ल्याउने राजनैतिक प्रतिबद्धतामा दृढ रहेको जोड दिनु भयो ।

यस्तै गरी जसपा नेपाल केन्द्रीय सदस्य रिता यादवले “लुम्बिनी प्रदेशले पछिल्ला वर्षहरूमा खेलकुद क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउदै लुम्बिनी राइडर्सको विजयले अब प्रदेशका हरेक पालिका र विद्यालयमा खेलकुदलाई अझ संगठित बनाउने आवश्यकता स्पष्ट देखाएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै नव–निर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले “प्रदेशको जिम्मेवारी पाउनु ठूलो सम्मान र चुनौती दुवै भएको बताउनु भएको छ ।
उहाले आगामी दिनमा समेत पार्टीको निति नियम, बिधानभित्र रहेर त्यस भित्र रहेर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले आज सम्मानित खेलाडीहरू र पार्टीका नव–निर्वाचित पदाधिकारीहरू युवाको क्षमता कति विशाल छ भन्ने प्रमाण भएको जिकिर गर्नु भयो । उहाले देशमा नै लुम्बिनी प्रदेश क्रिकेटमा च्याम्पियन भएको बताउदै यो देशको लागी गौरवको बिषय भएको बताउनु भयो । उहाले जसपा नेपाल सधै युवाको पक्षमा रहेको जोड दिदै खेलकुद, शिक्षा, रोजगार, र संगठनका हरेक क्षेत्रमा प्रदेशलाई शक्तिशाली बनाउने योजनासहित अघि बढ्ने प्रतिबद्धता गर्नु भएको छ ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले लुम्बिनी राइडर्सको सफलता केवल खेलकुदको जीत मात्र नभई प्रदेशकै प्रतिष्ठा बढाउने ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।उहाँले भन्नुभयो—“आज सम्मानित खेलाडीहरू हाम्रो प्रदेशका प्रेरणाको स्रोत हुन्। खेलकुदले युवामा अनुशासन, संघर्ष र नेतृत्व क्षमता विकास गर्छ। सरकार, स्थानीय तह र राजनीतिक दलले खेलकुदलाई प्राथमिकतामा राखेमा लुम्बिनी प्रदेशका युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूलो उपलब्धि दिलाउन सक्छन्।”

अध्यक्ष यादवले युवालाई विदेशिन बाध्य बनाउने परिस्थितिलाई खेलकुद, शिक्षा र रोजगारीसँग जोडिएको दीगो योजनाबाट परिवर्तन गर्न सकिने बताउँदै जसपा नेपालले खेलकुदलाई ‘सामाजिक रूपान्तरणको आधार’ मान्ने बताउँदै प्रत्येक स्थानीय तहले खेल मैदान, प्रशिक्षण सुविधा र खेलकुदका कार्यक्रमहरूलाई नीतिगत रूपमा समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै गरी जसपा नेपाल कोटहीमाई गाउँपालिका इन्चार्ज राहुल यादवले एनएसपिएल कपका पहिलो विजेता लुम्बिनी राइडर्सले खेलकुदको माध्यमबाट देशको गौरव बढाउने काम गर्दै आएकोमा धन्यवाद दिदै अझै अगाडी बढन हौसला प्रदान गर्नु भएको छ । उहाले अहिलेको पुस्ता क्षमतावान, चेतनशील र प्रतिस्पर्धी भएकोले उनीहरूलाई सही दिशा, हौसला र अवसर दिन जरुरी रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा जसपा नेपाल सिद्धार्थनगर नगर अध्यक्ष जावेद आलम,जसपा नेपाल गैडहवा गाउँपालिका अध्यक्ष शिवकुमार यादव, जसपा नेपाल तिलोत्तमा नगरपालिका इन्चार्ज गुडडन गौड लगायतले बोल्दै “एक सफल खेलाडीले देशको नाम मात्र होइन, स्थानीय तह, गाउँ र परिवारको नाम पनि रोशन गर्ने भएकोले स्थानीय स्तरका खेल मैदान, प्रशिक्षण केन्द्र र खेलकुद बजेट बढाउने दिशामा ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा तथा खेलाडीहरूलाई सम्मानपत्र, खादा सम्मान गरिएको थियो भने कार्यक्रम संचालन जसपा नेपाल रुपन्देहीका सचिव बिष्णु अधिकारीले गर्नु भएको थियो । जसपा नेपाल रूपन्देहीले खेलकुद, युवा नेतृत्व र प्रदेश विकासलाई आगामी दिनमा अझ सुदृढ रूपमा अघि बढाउने प्रतिवद्धता सार्वजनिक रूपमा घोषणा गरेको छ ।

प्रकाशित मिति: २०२५-११-२१ , समय : ११:१७:३८ , ३ घन्टा अगाडि