रुपन्देही खबर , १४३ पटक हेरिएको
भैरहवा,मंसिर २४
३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले अपांगता भएका ११ जनालाई सम्मान गरेको छ। बुधबार आयोजना गरिएको विशेष समारोहमा गाउँपालिकाभित्र रोजगारी तथा विभिन्न सेवामा आबद्ध १० जना अपांगता भएका व्यक्ति र १ जना आमा समूहकी सदस्यलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले समाज र राष्ट्र निर्माणमा हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “अपांगता कुनै कमजोरी होइन। यो सामाजिक, संरचनागत र अवसरजन्य अवरोधका कारण उत्पन्न अवस्था मात्र हो। त्यसैले अपांगता भएका व्यक्तिहरूलाई सहानुभूति होइन, अधिकार, समानता र अवसर आवश्यक छ। कोटहीमाइ गाउँपालिका समावेशी विकासलाई मुख्य कार्यसूची बनाएर अघि बढिरहेको छ।”
अध्यक्ष त्रिपाठीले अपांगता भएका बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूको पहुँच, सहभागिता र नेतृत्व सुनिश्चित गर्ने नीतिगत तथा कार्यक्रमगत पहललाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिँदै आएको जानकारी पनि दिनुभयो।
कार्यक्रममा सुरेश केवट, बिनोद पाल, लखराज यादव, अनिता हरिजन, अमिरका कुर्मी, सोमई पाल, सुलन कुर्मी, जमुनीदेवी गुप्ता, इसुफ अली चुरिहार, मोहम्मद शरीफ अली फकिर र पुष्पावती सहानीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले जानकारी दिनुभयो।
उपाध्यक्ष सुशिला कुमारी यादवको अध्यक्षता तथा गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक तपेन्द्र बिष्ट, नमुना एकीकृत विकास परिषद् रुपन्देहीका संस्थापक अध्यक्ष ज्ञानु पौड्याललगायतले अपांगता समावेशी समाज निर्माणमा साझा प्रतिबद्धताको आवश्यकता औंल्याउनुभएको थियो।
अपांगता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस–२०८२ को अवसरमा “अपांगता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने नारासहित नेपालभर विविध कार्यक्रम गरी दिवस मनाइएको छ।
प्रकाशित मिति: २०२५-१२-१० , समय : ०८:३४:१५ , ४ दिन अगाडि