जसपा नेपाल रुपन्देही–३ को बृहत् क्षेत्रीय भेला सम्पन्न, तीन उम्मेदवार सिफारिस

रुपन्देही खबर , ११२  पटक हेरिएको

भैरहवा, पुस ४

जनता समाजवादी पार्टी नेपाल क्षेत्र नम्बर ३ रुपन्देहीले भैरहवामा बृहत क्षेत्रिय भेला सम्पन्न गरेको छ । जसपा नेपाल सिद्धार्थनगरका अध्यक्ष जावेद आलमको अध्यक्षता तथा जसपा नेपालका केन्द्रिय सदस्य कैलाश गुरुङको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा प्रमुख अतिथि केन्द्रीय सदस्य कैलाश गुरुङले समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुशासन स्थापनाका लागि जसपा नेपाल विकल्प भएको बताउनु भएको छ । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा जनताको आवाज दबिँदै गएको उल्लेख गर्दै, “जनताको पक्षमा निर्भीक रूपमा बोल्ने र संघर्ष गर्ने शक्ति जसपा नेपाल मात्र भएको जोड दिनु भयो । उहाले रुपन्देही–३ बाट परिवर्तनको आधार तयार गर्न यस्ता भेलाले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्नू भएको छ ।

बिशिष्ठ अतिथी जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले बोल्दै पार्टी संगठनलाई अनुशासित, एकताबद्ध र जनआधारित बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनु भएको छ । उहाँले “रुपन्देहीमा जसपा नेपाललाई बलियो राजनीतिक शक्ति बनाउने जिम्मेवारी हामी सबैको भएको बताउदै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।

यस्तै गरी जसपा नेपाल सिद्धार्थनगर अध्यक्ष जावेद आलमले जनताको हक, अधिकार र पहिचानका लागि जसपा नेपाल निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै पार्टी संगठनलाई वडादेखि क्षेत्र तहसम्म मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “जनताको मुद्दा उठाउने पार्टी जसपा नेपाल हो। रुपन्देही–३ मा संगठन सुदृढ गर्दै जनताको विश्वास जित्नु आजको प्रमुख आवश्यकता हो ।”

भेलामा पार्टीको भावी कार्ययोजना, संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक रणनीतिबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले क्षेत्रीय स्तरमा पार्टीलाई थप सक्रिय बनाउँदै जनताको बीचमा जानुपर्नेमा जोड दिएका थिए ।

यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही क्षेत्र नम्बर ३ बाट तीन जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। क्षेत्रीय भेलाले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कैलाश गुरुङ, केन्द्रीय सदस्य निलम यादव र जिल्ला अध्यक्ष सियाराम यादवको नाम सिफारिस गरेको हो।


प्रतिनिधि सभा निर्वाचन समन्वय समिति क्षेत्र नम्बर ३ का संयोजक तौलेश्वर लोधको अध्यक्षतामा भएको भेलाले उक्त निर्णय गरेको पार्टीले जनाएको छ भने भेलामा समाजवादी महिला संघको पनि गठन गरिएको थियो ।

प्रकाशित मिति: २०२५-१२-१९ , समय : ०७:४२:१२ , ६ घन्टा अगाडि