जसपा नेपाल र लोसपा नेपाल एकीकृत हुने निर्णय

रुपन्देही खबर , ६०  पटक हेरिएको

काठमाडौँ, पुस १४

जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ। काठमाडौँमा सोमबार बसेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा तथा विश्लेषण गर्दै पार्टी एकीकरण गर्ने निष्कर्ष निकालेको हो।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतका अग्रगामी परिवर्तनका मुद्दालाई अझ सशक्त बनाउने आवश्यकता औँल्याएको छ। ती मुद्दालाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने साझा लक्ष्यका साथ दुवै पार्टी एकीकृत हुने निर्णय गरिएको प्रेस–विज्ञप्तिमा उल्लेख छ।

एकीकरणपछि मुलुकमा लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने तथा मधेस केन्द्रित राजनीतिक एजेन्डालाई एकीकृत ढंगले अघि बढाउने अपेक्षा गरिएको नेताहरूले बताएका छन्।

प्रेस–विज्ञप्तिमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: २०२५-१२-२९ , समय : ०७:१६:३४ , ५ घन्टा अगाडि