युवा नेता भोपेन्द्र यादवको उम्मेदवारी रुपन्देही क्षेत्र नं.४(मर्चवार)बाटै हुने

गलत प्रचार बन्द गर्न आग्रह

रुपन्देही खबर , २२७  पटक हेरिएको

भैरहवा, पुस १९

जनमत पार्टीका राष्ट्रिय सचीव तथा युवा नेता भोपेन्द्र प्रसाद यादवले रुपन्देही क्षेत्र नं. ४ (मर्चवार) बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट गर्दै क्षेत्र नं. ५ बाट चुनाव लड्ने भन्ने प्रचार पूर्णतः भ्रामक र निराधार भएको बताउनु भएको छ । यादवले विगत १३ वर्षदेखि मर्चवार क्षेत्रमै निरन्तर जनतासँग घुलमिल भई सेवा, सत्याग्रह तथा विभिन्न मिसन–भिजनका कार्यक्रममार्फत जनताको हक, अधिकार, स्वाभिमान, सम्मान र पहिचानका लागि संघर्ष गर्दै आएको बताउनु भएको छ । नागरिकता विधेयकविरुद्ध, मधेश स्वराज आन्दोलन तथा जनता राजको पक्षमा संघर्ष गर्दा आफूले दर्जनौँ पटक झुट्टा मुद्दामा जेल जीवन बिताउनुपरेको र हालसम्म पनि केही मुद्दा कायम रहेको उहाको भनाइ छ।

२०७९ सालको संघीय संसद् निर्वाचनमा मर्चवार क्षेत्रका मतदाताबाट प्राप्त सम्मानित मतप्रति आभार व्यक्त गर्दै उहाले केही व्यक्तिहरूले नितान्त व्यक्तिगत स्वार्थका कारण विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आफू क्षेत्र नं. ५ बाट उम्मेदवार बन्ने भन्दै गलत प्रचार गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
यादवले यस्ता भ्रामक गतिविधि प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गर्नु भएको छ । साथै जनमत पार्टीको औपचारिक निर्णयबिनै सञ्चार माध्यममा गएर अनर्गल र झुटा प्रचारप्रसार गर्ने व्यक्तिहरूलाई पार्टीले कडा कारबाही गर्न बाध्य हुने चेतावनी दिदै पार्टीका राष्ट्रिय पदाधिकारी वा कुनै पनि व्यक्तिको चरित्र हत्या हुने गरी गरिने अभिव्यक्ति पार्टीले सहन नसक्ने स्पष्ट पार्नु भएको छ ।

आफ्नो लामो समयको राजनीतिक लगानी, जनताको आशीर्वाद तथा परिवारका सदस्यहरूको समेत सोही क्षेत्रको मतदाता सूचीमा नाम रहेकाले आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ (मर्चवार) बाटै उम्मेदवारी रहने यादवले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२६-०१-०३ , समय : २१:२९:१३ , २ दिन अगाडि