रुपन्देही खबर , १६४ पटक हेरिएको
भैरहवा,माघ ७
रुपन्देही क्षेत्र नम्बर ४ बाट पूर्व सांसद प्रमोद कुमार यादवले आगामी निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले आफू विगत १० वर्षदेखि मर्चवार क्षेत्रको राजनीतिमा सक्रिय रहेको र यहाँको माटो तथा जनतासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। उहाँले वि.सं. २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई यस क्षेत्रको विकासका लागि धेरै पहलहरू गरेको स्मरण गर्दै बीचमा कोभिड महामारीका कारण केही योजनाहरू अधुरो रहेको उल्लेख गर्नुभयो।
वि.सं. २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि त्यस यताका वर्षहरूमा मर्चवार क्षेत्रको विकास निर्माणका कार्यहरू सुस्त भएको यादवको ठम्याई छ। उहाँले यस क्षेत्रका अभिभावक र जनताको माया तथा सद्भावकै कारण आफूले पुनः निर्वाचनमा होमिने निर्णय गरेको बताउनुभयो। मर्चवारको सर्वांगीण विकास, यहाँका बालबालिकाको उज्ज्वल भविष्य र अधुरा रहेका पूर्वाधारका कामहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो। नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका यादवले यसपटक यहाँका जनताले विकास र समृद्धिका लागि आफूलाई पुनः अवसर दिनेमा पूर्ण विश्वास व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: २०२६-०१-२१ , समय : ०८:३६:५१ , ११ घन्टा अगाडि