रुपन्देही खबर , ७४ पटक हेरिएको
भैरहवा,माघ १९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ । बालिका तथा समावेशी सञ्जाल गठन तथा सञ्चालन सम्बन्धी मापदण्ड–२०८० अनुसार गठन गरिएको सञ्जालले नगरभित्रका बालिका, अपांगता भएका तथा सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच, सहभागिता र सिकाइ उपलब्धि सुधारका लागि योजना तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्य लिएको छ ।
नगर उपप्रमुख तथा सञ्जालकी संयोजक उमा अधिकारीले विद्यालयबाहिर रहेका बालबालिका, विशेष गरी बालिका, अपांगता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको पहिचान गरी शिक्षामा पहुँच सुनिश्चित गर्न सञ्जालले पहल गर्ने बताउनुभयो । उहाँले समावेशी र समान शिक्षा सुनिश्चित गर्नु सञ्जालको प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
सञ्जालका सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगरभित्र कुनै पनि बालबालिका—विशेष क्षमता भएका, आर्थिक रूपमा कमजोर वा सीमान्तकृत समुदायका—आधारभूत शिक्षाबाट वञ्चित नहुन् भन्ने मान्यताका साथ सञ्जालले काम गर्ने बताउनुभयो । यस अभियानलाई सफल बनाउन सञ्जालका सबै सदस्यको सक्रिय र जिम्मेवार भूमिका आवश्यक हुने उहाँको भनाइ थियो ।
सञ्जालमा विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सञ्जालमा प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय बाल क्लबका प्रतिनिधि, वडा अध्यक्ष, अपांगता भएका बालबालिकाका अभिभावक, बालिका तथा समावेशी क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–अभिभावक संघका प्रतिनिधि, नेपाल प्रहरी प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, दलित वा दलित महिला सदस्य, तथा शिक्षा महाशाखा वा शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सुदृढीकरण गर्ने उद्देश्यले गठन गरिएको यस सञ्जालले शिक्षा क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२६-०२-०२ , समय : ०९:४०:०९ , ५ घन्टा अगाडि