रुपन्देही खबर , ६१ पटक हेरिएको
बुटवल, माघ २१
राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित पार्टीले २५ बुँदामा ४० पृष्ठ लामो घोषणापत्र माघ १४ गते सार्वजनिक गरेको हो।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै वर्तमान सरकारलाई विदेशी शक्तिको प्रभावमा बनेको भन्दै अवैधानिक ठहर गर्नुभयो। उहाँले संघीय संरचनाले देशलाई कमजोर बनाएको र एकीकृत राज्य संरचना अवलम्बन गर्नुपर्ने माग राख्नुभयो।
अध्यक्ष केसीले राजनीतिक दलहरूको विगतको कमजोरी र जनताको अपेक्षाअनुसार काम नगर्दा देश गम्भीर संकटमा पुगेको स्वीकार गर्नुभयो। उहाँको भनाइ छ, “नेपालको इतिहासमा यति ठूलो संकट अहिलेसम्म आएको थिएन। आज राष्ट्रियता नै अप्ठ्यारो अवस्थामा पुगेको छ।”
नयाँ दलहरूलाई लक्षित गर्दै केसीले परिवर्तनको नाममा जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढेको आरोप लगाउनुभयो। उहाँले विदेशी प्रभावमा रहेका केही एनजीओ तथा आईएनजीओबाट लाभ लिइरहेका व्यक्तिहरूले कृत्रिम एजेन्डा अघि सारेर राष्ट्रमाथि आक्रमण गरिरहेको दाबी गर्नुभयो।
उहाँले भने, “यदि यस्ता शक्तिहरूको हातमा मुलुक गयो भने संविधान मात्र होइन, राष्ट्र नै संकटमा पर्छ।” अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले देशको राष्ट्रियता र संविधानको रक्षा गर्न दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो।
प्रकाशित मिति: २०२६-०२-०४ , समय : ११:४१:४८ , ७ घन्टा अगाडि