वरिष्ठ कलाकार सुनिल थापाको निधन

रुपन्देही खबर , ७६  पटक हेरिएको

काठमाण्डौ,माघ २४

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उहाँलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ ।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उहाँ ‘राते काइला’ को रुपमा पनि चिनिनुहुन्छ ।

थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार संघका अध्यक्ष निरौलाले जानकारी दिनुभयो । थापाको निधनमा कलाकार तथा शुभचिन्तकहरुले नेपाली चलचित्र क्षेत्रले बलियो धरोहर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२६-०२-०७ , समय : १०:५८:४८ , ६ घन्टा अगाडि