रुपन्देही खबर , ८१ पटक हेरिएको
परासी, माघ ५
“जुनसुकै नेता आए पनि काम गर्दैनन्” भन्ने आक्रोशका बीच पनि नेपाली कांग्रेस आफ्ना लोकप्रिय एजेन्डा र दक्ष उम्मेदवारमार्फत मतदाताको मन जित्न सफल बन्दै गएको छ। काम गर्ने क्षमता र अनुभव भएका उम्मेदवारका कारण कांग्रेसप्रति मतदाताको विश्वास पुनः बलियो हुँदै गएको देखिन्छ। निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) ले घरदैलो कार्यक्रमका क्रममा मतदाताका गुनासो सुन्दै आफू र आफ्नो पार्टी सच्चिएर काम गर्न आएको स्पष्ट सन्देश दिनुभएको छ। चुनावी प्रचार–प्रसारका क्रममा उहाँले इमान्दारीपूर्वक काम गर्ने विश्वास मतदातामा जगाउन थाल्नुभएको छ।

आज जिल्लाको रामग्राम नगरपालिका वडा नं. १६ हकुईमा आयोजित घरदैलो कार्यक्रममार्फत उम्मेदवार थापाले समुन्नत नेपाल निर्माणका लागि कांग्रेससँग विस्तृत योजना रहेको बताउनुभयो। एक वृद्ध मतदाताले “चुनावमा आश्वासन मात्र बाँडिन्छ” भन्ने प्रश्न उठाउँदा उहाँले अब आश्वासन बाँड्ने होइन, काम गरेर देखाउने समय आएको भन्दै ठूलो जिम्मेवारी र जोसका साथ चुनावी मैदानमा उत्रिएको जिकिर गर्नुभयो।
उम्मेदवार थापाले पार्टीभित्र नेतृत्व परिवर्तन भएको र अहिले धेरै जोसिला तथा दक्ष युवालाई टिकट दिएर चुनावी मैदानमा उतारिएको उल्लेख गर्दै अब काम नगर्ने छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो। आफू यसपटक मात्र चुनाव लड्ने र जनताको मन जित्ने गरी काम गर्ने राजनीतिक यात्राको संकेत गर्दै यहाँको समग्र विकासका लागि भरपुर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

चुनाव जितेमा जिल्लाका समस्या समाधानका लागि सदनमा कानुन र नीति निर्माणमार्फत भूमिका खेल्ने, साथै भौतिक, आर्थिक र सामाजिक विकासका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा पहल गर्ने उहाँको प्रतिबद्धता रहेको छ।
भरत थापा सुनवल नगरपालिका का पूर्व मेयर, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा पार्टीका पूर्व केन्द्रीय सदस्य भएर काम गरिसक्नुभएको अनुभवी नेता हुनुहुन्छ। विकासको स्पष्ट अवधारणा र कार्यशैलीका कारण सुनवलमा उहाँले देखाएको नतिजाले नै विकासप्रेमी नेताको छवि बनाएको स्थानीयहरूको भनाइ छ।
जिल्लाको समग्र विकासमा प्रभावकारी भूमिका खेल्न सक्ने र सम्बन्धित निकायमा पहुँच पुर्याउन सक्ने नेताका रूपमा भरत थापाप्रति मतदाताको आशा र भरोसा बढ्दै गएको छ। चुनावी प्रचार–प्रसारका क्रममा उहाँप्रति मतदाताको उत्साह उल्लेखनीय देखिएको छ।
प्रकाशित मिति: २०२६-०२-१७ , समय : २०:४३:१३ , ३ घन्टा अगाडि