रुपन्देही खबर , ९७ पटक हेरिएको
नवलपरासी, फागुन ९
चुनावी माहोल तातिँदै जाँदा नवलपरासीमा प्रचार कार्यक्रमकै क्रममा झडप हुँदा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी ले उम्मेदवारसहित नेताकार्यकर्तामाथि हातपात गरेको आरोपमा उनीहरूमाथि मुद्दा अघि बढाएको जनाएको छ।
घटना बर्दघाट नगरपालिका–१२ जमुनिया बजार मा गत मंगलबार भएको हो। सो दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आयोजना गरेको प्रचार कार्यक्रममा केही व्यक्तिहरूले अवरोध सिर्जना गर्दै कुटपिट गरेको बताइएको छ। उनीहरूले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कार्यकर्ता बताउँदै आएका थिए।
कुटपिटमा संलग्न आरोपमा अजय गौतम, दिपिन थापा, आयुषा राना मगर, राज वि.सी. र किशोर राना पक्राउ परेका छन्। उनीहरू सबै बर्दघाट नगरपालिका–१३ धनेवा का बासिन्दा हुन्।
झडपका क्रममा माओवादीका उम्मेदवार राजुप्रसाद हरिजन सहित अन्य नेताहरू घाइते भएका थिए। ‘घण्टी’ चुनाव चिह्नको क्षेत्रमा प्रचार गर्न आएको विषयलाई लिएर विवाद बढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: २०२६-०२-२१ , समय : ०८:४३:५९ , १४ घन्टा अगाडि