प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सुरक्षामा कडाइ गर्न निर्देशन

रुपन्देही खबर , ७८  पटक हेरिएको

बुटवल, फागुन ९

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई थप सक्रिय र सजग रहन निर्देशन दिनुभएको छ। बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन नजिकिँदै जाँदा केही स्थानमा देखिएका छिटपुट घटनाप्रति चासो व्यक्त गर्दै सम्भावित जोखिमको पूर्वआकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्नुभयो। उहाँले निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय हुन सक्ने तत्वहरूको पहिचान गर्दै आवश्यक निगरानी र नियन्त्रणमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो।

प्रधानमन्त्री कार्कीले केही समूहले राजनीतिक लाभका लागि निर्वाचन बहिष्कारको हल्ला फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमाथि कडा निगरानी राख्नुपर्ने बताउनुभयो। “निर्वाचन लोकतन्त्रको आधार हो, यसलाई प्रभावित पार्ने कुनै पनि प्रयास सह्य हुँदैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

बैठकमा लुम्बिनी प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। कार्यक्रममा प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश प्रहरी प्रमुख भूपेन्द्र खत्री, नेपाली सेनाका पृतनापति हिम्मत बहादुर बिष्ट तथा रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। सुरक्षा बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा जानुभएको थियो, जहाँ उहाँले सम्पदा संरक्षण र विकास गतिविधिबारे जानकारी लिनुभएको बताइएको छ।

प्रकाशित मिति: २०२६-०२-२१ , समय : १८:४९:०१ , ४ घन्टा अगाडि