रुपन्देही खबर , १०७ पटक हेरिएको
भैरहवा, फागुन १४
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–१ को चुनावी माहोल तातेको छ । गाउँ–टोलमा उम्मेदवारहरूको बाक्लो उपस्थितिसँगै विकासका एजेन्डामाथि बहस चुलिँदै गएको छ । यही क्रममा जनता समाजवादी पार्टी नेपाल, रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार असलम खाँनले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासमक्ष आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहनुभएको छ ।

बुधबार उहाँ ओमसतिया गाउपालिका वडा नं. ५ का रामनगर, सिसहनिया , गौरी , पटखौली,भेलाई, लक्ष्मीनगर, दरखसवा, तरैनी, कदमहवा , पकडिहवा लगायतका विभिन्न गाउँबस्तीमा पुग्नुभयो । स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, नाला तथा सडक पूर्वाधारको कमजोर अवस्थाबारे गुनासो सुन्नुभयो । ग्रामीण बस्तीमा अझै आधारभूत सेवा प्रभावकारी रूपमा नपुगेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए । खाँनले आफू निर्वाचित भए ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

घरदैलो क्रममा भ्रष्टाचार नियन्त्रणको माग व्यापक रूपमा उठेको उहाँको भनाइ छ । “सुशासन बिना विकास सम्भव छैन,” भन्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गर्नुभयो । जनताले इमानदार र जवाफदेही नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले कामबाटै विश्वास जित्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
कृषि क्षेत्रलाई केन्द्रमा राख्दै खाँनले समयमै मलखाद र बीउबिजन उपलब्ध गराउने, उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्ने तथा कृषिको आधुनिकीकरणमार्फत किसानको आम्दानी बढाउने योजना सुनाउनुभयो । किसानको मुख्य माग सम्बोधन गर्दै ‘नयाँ कृषि क्रान्ति’ सुरु गर्ने उहाँको अठोट छ ।
उहाले वैदेशिक रोजगारीको बाध्यता घटाउने लक्ष्यसहित स्थानीय उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।
चुनावी माहोलसँगै विकासका ठोस एजेन्डा प्रस्तुत गर्दै खाँनले क्षेत्र नम्बर १ लाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न सहरका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउनुभएको छ । जनसहभागिता र उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले फागुन २१ मा परिवर्तनका पक्षमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ ।
प्रकाशित मिति: २०२६-०२-२६ , समय : ०७:२६:३७ , ४ घन्टा अगाडि