घरदैलो अभियानमा थापा:सरावलका लागि पानी,पुर्जा र सडक नै पहिलो प्राथमिकता

रुपन्देही खबर , १०२  पटक हेरिएको

नवलपरासी,फागुन १५

भिम बहादुर थापा (भरत) यतिबेला नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. २ मा चुनावी प्रचारप्रसारमा सक्रिय रहँदै सरावल गाउँपालिकाका बस्ती–बस्तीमा घरदैलो अभियानमा जुटिरहनु भएको छ।

स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने क्रमलाई तीव्रता दिनुभएको छ।
शुक्रबार सरावल गाउँपालिका वडा नं. १, २ र ३ मा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयले आधारभूत आवश्यकताकै विषयलाई पहिलो प्राथमिकतामा राख्दै स्पष्ट सन्देश दिनु भएको छ —“पहिले पानी, त्यसपछि पुर्जा र सडक।”

सरावल गाउँपालिका वडा नं. ३ जनकपुर र हुलाकी टोलका बासिन्दाले सुरक्षित पिउने पानीको अभाव अझै समाधान हुन नसकेको गुनासो गरेका छन्।
स्थानीय खेमलाल चौधरीका अनुसार खानेपानी टंकी निर्माण भएको ३/४ वर्ष बितिसक्दा पनि पाइप विस्तार नहुँदा धेरै घरधुरी अझै धारा विहीन छन्। “टंकी बन्यो, तर पानी घरसम्म आएन,” उनको भनाइ थियो।

बिपन्न तथा ग्रामीण बस्ती रहेको उक्त क्षेत्रमा अझै धेरै परिवार सुरक्षित पानीबाट वञ्चित छन्, जसले स्वास्थ्य र दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको स्थानीयको भनाइ छ।

हुलाकी टोलकी यमकली क्षेत्रीले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा राज्यका सेवा–सुविधाबाट वञ्चित हुनुपरेको बताउनुभयो।

“लालपुर्जा नभएपछि खानेपानी, विद्युत्, सडक जस्ता योजना पनि सहजै आउँदैनन्,” उनले गुनासो गरिन्। स्थानीयले भूमिसम्बन्धी समस्या समाधानलाई दीर्घकालीन विकासको आधार मानेका छन्।

वडा नं. २ का जितेन्द्र हरिजनले कच्ची सडक अझै कालोपत्रे हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण आवतजावत कष्टकर हुने गरेको छ।
भित्री सडकहरू स्तरोन्नति नहुँदा शिक्षा, स्वास्थ्य र बजारसम्म पहुँचमा समस्या भइरहेको स्थानीयको भनाइ छ। “सडक छैन भने विकास अधुरो छ,” उनीहरूको साझा धारणा रह्यो।

स्थानीयका गुनासा गम्भीरतापूर्वक सुन्दै उम्मेदवार थापाले आफू क्षेत्रका समस्याबारे जानकार रहेको र निर्वाचित भए आधारभूत आवश्यकताबाट वञ्चित नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले शुद्ध पानी, भूमिसम्बन्धी समस्या र सडक पूर्वाधारलाई परिणाममुखी रूपमा अघि बढाउने वाचा गर्नुभयो।

नवलपरासी–२ अन्तर्गत सरावल क्षेत्रमा मतदाताको स्पष्ट अपेक्षा देखिएको छ—राजनीतिक भाषणभन्दा बढी परिणाममुखी काम। शुद्ध पानी, लालपुर्जा , गुणस्तरीय शिक्षा र सडक स्तरोन्नति जस्ता आधारभूत आवश्यकतामाथि अब आउने नेतृत्वले कत्तिको प्रभावकारी कदम चाल्छ, त्यसले चुनावी परिणाम मात्र होइन, क्षेत्रको भविष्यसमेत निर्धारण गर्ने देखिन्छ।

प्रकाशित मिति: २०२६-०२-२७ , समय : १८:५०:५५ , ४ घन्टा अगाडि