आज खण्डग्रास चन्द्रग्रहण, नेपालबाट करिब एक घण्टा अवलोकन गर्न सकिने

रुपन्देही खबर , ८०  पटक हेरिएको

काठमाडौं, फागुन १९

फाल्गुन शुक्ल पूर्णिमाका अवसरमा आज बेलुका नेपालमा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार ग्रहणले दिउँसो ३ः३४ बजे स्पर्श गर्नेछ। यद्यपि नेपालमा चन्द्रोदयपछि मात्रै खण्डग्रास अवस्थामा ग्रहण देखिनेछ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बेलुका ६ः०३ बजे चन्द्रोदय हुँदा नै चन्द्रमा ग्रस्तोदित (उदाउँदै ग्रहण लागेको) अवस्थामा देखिनेछ। बेलुका ७ः०२ बजे ग्रहण समाप्त हुनेछ। यसरी नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।

खग्रास र खण्डग्रास के हो?

पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो भने केही भाग मात्र ढाकिने अवस्था खण्डग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सीधामा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो। यस वर्ष नेपालबाट दोस्रोपटक ग्रहण देखिन लागेको हो। गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो।

सुतक र धार्मिक आस्था

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने मान्यता छ। मंगलबार बिहान ९ः०३ बजेदेखि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भोजन नगर्न शास्त्रीय मान्यता रहेको जनाइएको छ। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठ तथा दीक्षा मन्त्र लिन शुभ मानिन्छ। निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत ग्रन्थमा ग्रहणका समयमा तीर्थस्थल वा नजिकको नदी–पोखरीमा स्नान गर्नुपर्ने उल्लेख छ।

विशेष उपकरणविना अवलोकन सम्भव

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार मौसम अनुकूल भए देशका सबै भागबाट यो खण्डग्रास चन्द्रग्रहण प्रस्ट देख्न सकिनेछ। चन्द्रग्रहण हेर्न विशेष उपकरण आवश्यक पर्दैन। घरको छत, खुला चौर वा नजिकैको डाँडाबाट चन्द्रोदयसँगै अवलोकन गर्न सकिनेछ। उच्च स्थानबाट हेर्दा अझ स्पष्ट देखिने जनाइएको छ।

वैज्ञानिक पृष्ठभूमि

पृथ्वीले सूर्यको परिक्रमा गर्दा चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ। यस क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्छ। चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाले चन्द्रमा ढाकिँदा चन्द्रग्रहण देखिन्छ।

यद्यपि हरेक पूर्णिमामा चन्द्रग्रहण नलाग्नुको कारण चन्द्रमाको कक्षीय धरातल पृथ्वीको कक्षीय धरातलसँग करिब ५ डिग्री कोणमा रहेको हो। चन्द्रकक्षले पृथ्वीको कक्षीय धरातललाई काट्ने दुई बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु नाम दिइएको छ। सन् २०२६ मा विश्वभर दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी चार ग्रहण लाग्नेछन्। नेपालबाट भने यस वर्ष देखिने यो एक मात्र ग्रहण भएको जनाइएको छ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०९:४४:४९ , ४ घन्टा अगाडि