रुपन्देही खबर , ६४ पटक हेरिएको
भैरहवा,फागुन १९
रुपन्देहीमा प्रहरीले दुई दिनमा झण्डै साढे ८ लाखको अवैध सामान बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले फागुन १६ र १७ गते अन्दाजी मूल्य ८ लाख ४० हजार ८ सय बराबरको सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले फागुन १६ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित सलमान एकीकृत कृषि फर्ममा छापा मार्दा भारतबाट भन्सार छली गरी लुकाइएको ७१२ पिस लेडिज कुर्ता सुरुवाल सेट (रु. ७,१२,०००) बरामद गरेको छ। फर्म सञ्चालक ५२ वर्षीय सफिद खानलाई नियन्त्रणमा लिइ भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ।
त्यसैगरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र प्रहरी चौकी चनौलीबगाहको संयुक्त टोलीले फागुन १७ गते रोहिणी गाउँपालिका–१ झोलुङ्गेपुल क्षेत्रबाट बेवारिसे अवस्थामा रहेको दुई मोटरसाइकलमा २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट (रु. ७८,८००) बरामद गरेको छ। मोटरसाइकलको मूल्य रु. ५०,००० सहित कुल रु. १,२८,८०० बराबरको सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०३-०३ , समय : १०:०५:४७ , ४ घन्टा अगाडि