“कामको सूची दिनुस्, विकासको जिम्मा मेरो” — रुपन्देही–४ का सांसद कन्हैया बनिया

रुपन्देही खबर , १०८  पटक हेरिएको

लुम्बिनी,फागुन २७

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को विकासलाई योजनाबद्ध र जनमुखी बनाउन स्थानीयस्तरबाटै योजना संकलन गर्ने पहल सुरु गरिएको छ। यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कन्हैया बनिया ले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई विकासका प्राथमिकता र आवश्यक योजनाबारे सुझाव दिन आग्रह गर्नुभएको छ।
सांसद बनियाको निजी सचिवालयले जारी गरेको अपिलमार्फत बुद्धिजीवी, व्यवसायी, किसान, श्रमिक, युवा लगायत सम्पूर्ण नागरिकलाई आफ्नो गाउँठाउँमा आवश्यक पर्ने विकास निर्माणका योजना र कार्यक्रमबारे जानकारी गराउन अनुरोध गरिएको छ।
सचिवालयका अनुसार स्थानीय, प्रादेशिक तथा संघीय सरकारमार्फत कार्यान्वयन गर्न सकिने योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय गर्न नागरिकस्तरबाटै सुझाव संकलन गर्न लागिएको हो।

अपिलमा भनिएको छ, “हामीलाई कामको सूची दिनुहोस्, हाम्रो क्षेत्रलाई समृद्ध र विकसित बनाउन हामी जिम्मेवारीपूर्वक काम गर्छौं।” जनताको वास्तविक आवश्यकता र समस्यालाई आधार बनाएर विकासका योजना तयार पार्ने उद्देश्यले यस्तो पहल गरिएको सचिवालयले जनाएको छ।

आफ्नो क्षेत्रका आवश्यक योजना तथा कार्यक्रमबारे सुझाव दिन इच्छुक नागरिकले सचिवालयका सम्पर्क नम्बर ९८००७२५१२१, ९८१५४१२४८७, ९७०१४८२००५ र ९८१६४४१६१३ मा सम्पर्क गरेर आफ्ना विकासका एजेन्डा टिपाउन सक्नेछन्।

नागरिकको प्रत्यक्ष सहभागितामा तय हुने योजनाले रुपन्देही–४ को समग्र विकासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १७:१८:३५ , ३ घन्टा अगाडि