रुपन्देही खबर , १२३ पटक हेरिएको
भैरहवा,फागुन २७
रुपन्देहीमा पकाउने ग्यासको अभाव र खाद्यान्न सामग्रीको मूल्यवृद्धि भएको भन्दै नागरिक सरोकार मञ्च नेपालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको ध्यानाकर्षण गराएको छ।
मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ताले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय रुपन्देहीका विभिन्न बजार क्षेत्रमा पकाउने ग्यासको अभाव देखिएको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनपछि बजारमा ग्यासको अभाव बढ्दै गएको र कतिपय स्थानमा चर्को मूल्य लिएर लुकीछिपी ग्यास बिक्री भइरहेको भन्ने गुनासो समेत आएको छ।
ज्ञापनपत्रमा केही खाद्यान्न सामग्रीहरूको मूल्य पनि बढाइएको भन्ने विषय पत्रपत्रिका तथा जनगुनासोबाट आएको उल्लेख गर्दै बजारमा तत्काल अनुगमन गर्न प्रशासनसँग आग्रह गरिएको छ।
मञ्चले कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेहरूलाई नियन्त्रण गर्दै जनताले पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्री सर्वसुलभ रूपमा प्राप्त गर्ने वातावरण मिलाउन प्रशासनसँग माग गरेको छ।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १७:४४:२९ , ४ घन्टा अगाडि