रुपन्देही खबर , १५७ पटक हेरिएको
नवलपरासी,चैत १
नवलपरासीकी रिंगला यादव नेकपा एमालेबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बन्ने पक्का भएको छ। नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका १६ जना समानुपातिक सांसदहरूको नामावली चयन गर्दा उहाँको नाम समावेश गरेको हो।
मधेसी महिलातर्फ पहिलो नम्बरमा सिफारिस गरिएकी यादव अब प्रतिनिधिसभा सदस्य बन्ने निश्चित भएको बताइएको छ। उहाँ नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ सनई निवासी हुनुहुन्छ।
पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको जनाएको छ। जनजातितर्फ समानुपातिक सांसदको सूचीमा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्।
त्यस्तै खस आर्य समूहबाट महिला तथा पुरुष गरी पाँच जना चयन भएका छन्। यस समूहमा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन्।
थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया बिके र नीता घतानी चयन भएका छन्। मधेसी समुदायबाट महिलातर्फ रिंगला यादवसहित यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डल चयन भएका छन्।
मुस्लिम समुदायबाट महिलातर्फ साजिदा सिद्दीकीको नाम समानुपातिक सांसदको सूचीमा परेको छ।
प्रकाशित मिति: २०२६-०३-१५ , समय : १७:५३:१७ , ३ घन्टा अगाडि