तिलोत्तमा १७ कानपाराको कोटहीमाई मन्दिरमा नौ चण्डी महायज्ञ सुरु

भव्य कलश यात्रामा सयौँ श्रद्धालुको सहभागिता

रुपन्देही खबर , १४०  पटक हेरिएको

भैरहवा, चैत ८

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ कानपारा स्थित श्री कोटहीमाई मन्दिरमा श्री श्री १००८ श्री नौ चण्डी महायज्ञ शनिबारदेखि सुरु भएको छ। धार्मिक आस्था र सामाजिक एकताको सन्देश बोकेको यस महायज्ञको पहिलो दिन उत्साहजनक कलश यात्रा सम्पन्न गरिएको छ।

श्री श्री १००८ श्री नौ चण्डी महायज्ञ मूल समारोह समितिका अध्यक्ष राजाराम यादवको अध्यक्षतामा आयोजित कलश यात्रामा सयौँ श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

श्री कोटहीमाई मन्दिरबाट सुरु भएको कलश यात्रा जनवरा, ओमसतिया–५ पटखौली हुँदै भेलाई, गौरी पुगेर सतियामाई मन्दिरमा पूजा–अर्चना गरिएको थियो। त्यसपछि रोहिणी नदीबाट जल भरी पुनः लोहरौली हुँदै कलश यात्रा गर्दै मन्दिर परिसरमा प्रवेश गरिएको थियो।


कार्यक्रममा बोल्दै अध्यक्ष राजाराम यादवले महायज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक संस्कारको संरक्षण, समाजमा सद्भाव, एकता र आध्यात्मिक चेतनाको अभिवृद्धि गर्नु रहेको बताउनुभयो। उहाँले यस्तो धार्मिक अनुष्ठानले स्थानीय समुदायबीच भाइचारा मजबुत बनाउने र नयाँ पुस्तामा संस्कार हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नौ दिनसम्म सञ्चालन हुने महायज्ञ अवधिभर विभिन्न धार्मिक कार्यक्रम, पूजाआजा, प्रवचन तथा भजन–कीर्तन आयोजना गरिने आयोजकले जनाएको छ। साथै, महायज्ञमा कथा वाचन कथा व्यास रामेश्वर दास जी महाराजबाट गरिने जानकारी दिइएको छ। स्थानीयवासीहरूमा महायज्ञप्रति ठूलो उत्साह देखिएको छ भने कार्यक्रमले क्षेत्रमै धार्मिक माहोल थप सुदृढ बनाएको छ।



प्रकाशित मिति: २०२६-०३-२२ , समय : १०:४९:१२ , ३ घन्टा अगाडि