रुपन्देहीमा चैत १३ र १४ गते बृहत धम्मयात्रा हुदै

५ सय श्रामणेरको सहभागिता हुने

रुपन्देही खबर , ९६  पटक हेरिएको

भैरहवा, चैत ९

बुद्धको पवित्र भूमि लुम्बिनी बाट शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित रूपन्देहीका चार ठाउमा बृहत् धम्मयात्रा हुने भएको छ । ५ सय श्रामणेर सहित हजारौं श्रद्धालु सहभागी हुने यस आध्यात्मिक यात्राले जिल्लाभर विशेष धार्मिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ । अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया–नेपालको आयोजनामा तथा बौद्ध समाज नेपालको व्यवस्थापनमा धम्मयात्रा सञ्चालन हुन लागेको हो ।

पत्रकार सम्मेलनमा बौद्ध समाजका अध्यक्ष शंकर गाहाले “धम्मयात्रा केवल धार्मिक अनुष्ठान होइन, यो मानवता, शान्ति र सामाजिक एकताको अभियान हो” भन्दै यसले नेपाललाई विश्व शान्तिको सन्देश दिने केन्द्रका रूपमा थप स्थापित गर्ने बताउनु भयो ।

थाई भिक्षु थावरो भन्तेले नेपालबाट सुरु भएका यस्ता आध्यात्मिक अभियानहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पार्दै आएको उल्लेख गर्नु भयो । “धम्मयात्राले मानिसलाई करुणा, अनुशासन र सहकार्यको मार्गमा अघि बढाउँछ,” उहाले भन्नु भयो ।

आयोजकका अनुसार चैत्र १३ गते बिहान ७ बजे बुटवल र देवदह मा एकसाथ यात्रा सुरु हुनेछ । सोही दिन दिउँसो ३ बजे लुम्बिनीमा विशेष धम्मयात्रा हुनेछ भने चैत्र १४ गते दिउँसो २ बजे देखि भैरहवाको सिद्धार्थ रंगशालाबाट सुरु भइ निर्वाणा होटल चोक, मिलन चोक , बुद्ध चोक हुदै धम्मयात्रा गरी मुख्य कार्यक्रम बुद्धचोकको लुम्बिनी गेटमा आयोजना गरिनेछ । रंगशाला रोडदेखि लुम्बिनी गेटमा हुने धम्मयात्राले मार्ग आध्यात्मिक उल्लासले भरिने बताइएको छ।

यात्रामा भिक्षु–भिक्षुणी, उपासक–उपासिका, स्थानीय बासिन्दा, संघसंस्था र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ । लुम्बिनी गेटमा श्रामणेरहरूको पुष्पवर्षासहित भव्य स्वागत गरिने कार्यक्रमले यात्रालाई थप आकर्षक बनाउनेछ ।

ऐतिहासिक रूपमा भगवान् बुद्धले ज्ञान प्राप्तिपछि कपिलवस्तुको तिलौराकोट फर्कँदा प्रयोग गरेको मानिने सिद्धार्थनगर–लुम्बिनी मार्गमै यात्रा गरिने भएकाले यसको सांस्कृतिक र धार्मिक महत्व अझ गहिरो बनेको छ । यही मार्गको प्रवद्र्धनमार्फत धार्मिक पर्यटन विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ ।

धम्मयात्रा बौद्ध दर्शनलाई जनस्तरसम्म पु¥याउने सशक्त माध्यम मानिन्छ। २० दिनका लागि प्रवजित भएका श्रामणेरहरूले पहेँलो चीवर धारण गरी १० नियम पालना गर्दै अनुशासित जीवन अभ्यास गरिरहेका छन्, जसले आत्मअनुशासन र आध्यात्मिक रूपान्तरणको सन्देश दिन्छ।

‘धम्म’ अर्थात् कुशल कर्म र ‘यात्रा’ अर्थात् अग्रसरता—यी दुईको संयोजनबाट बनेको धम्मयात्रा वास्तवमा मानवलाई सत्कर्मतर्फ डोर्याउने जीवनयात्रा हो। रूपन्देहीमा हुने यो बृहत् अभियानले शान्ति, सद्भाव र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०२६-०३-२३ , समय : २३:१३:३१ , ३ घन्टा अगाडि