लुम्बिनी बौद्ध विश्वविद्यालयको विज्ञापन रोक्न स्थानीयको माग

आन्दोलनको चेतावनी

रुपन्देही खबर , १५५  पटक हेरिएको

भैरहवा,चैत ११

लुम्बिनी क्षेत्रका स्थानीयवासीहरूले लुम्बिनी बौद्ध विश्वविद्यालयले हालै प्रकाशित गरेको विज्ञापन प्रक्रिया स्थगित गर्न माग गरेका छन्। २०८२ पुस २५ गते प्रकाशित विज्ञापनले सीमित व्यक्तिहरूलाई लाभ पुर्‍याउने आशंका व्यक्त गर्दै उनीहरूले तत्काल प्रक्रिया रोक्न ध्यानाकर्षण गराएका हुन्।

स्थानीयवासीहरूले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै विगतदेखि नै पदाधिकारीहरूको स्वार्थअनुसार नियुक्ति प्रक्रिया सञ्चालन हुँदै आएको आरोप लगाएका छन्। उनीहरूले आफ्ना आसेपासे तथा नातेदारलाई प्राथमिकता दिने प्रवृत्तिले विश्वविद्यालयको साखमा असर पुगेको बताएका छन्।

ज्ञापनपत्रमा विश्वविद्यालय स्थापनामा स्थानीयवासीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रदान गरिएको जग्गामा निर्माण गरिएका भवनहरू समेत पूर्ण रूपमा उपयोगमा नआएको गुनासो गरिएको छ। साथै, विश्वविद्यालयको नियमअनुसार नयाँ कार्यक्रमहरू केन्द्रीय क्याम्पसमै सञ्चालन हुनुपर्ने भए पनि BALLB जस्ता कार्यक्रम अन्यत्र सञ्चालन गरिँदै आएकोप्रति आपत्ति जनाइएको छ।

स्थानीयवासीहरूले BALLB तथा IT कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमै सञ्चालन गर्न माग गरेका छन्। यसो भएमा लुम्बिनी क्षेत्रका विद्यार्थीहरूले सहज रूपमा उच्च शिक्षा हासिल गर्न सक्ने उनीहरूको भनाइ छ।

यस्तै हाल प्रकाशित विज्ञापन ७ दिनभित्र स्थगित गरी स्थानीयलाई प्राथमिकता दिने व्यवस्था सहित नयाँ विज्ञापन प्रकाशित गर्न पनि माग गरिएको छ।

स्थानीयवासीहरूले आफ्ना मागहरू समयमै सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। उनीहरूले आन्दोलनबाट विश्वविद्यालयको नियमित सञ्चालनमा पर्ने असर तथा सम्भावित क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: २०२६-०३-२५ , समय : १८:१९:४७ , ४ घन्टा अगाडि