रुपन्देही खबर , ७२ पटक हेरिएको
काठमाण्डौ, चैत १२
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ। शपथ समारोहका लागि आवश्यक सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुहुनेछ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। समारोहका लागि सिट व्यवस्थापन, रोष्ट्रम, सभामुखको आसन, महासचिव तथा सचिवहरूको स्थान लगायत सबै पूर्वतयारी सम्पन्न गरिएको सचिवालयले जनाएको छ।
यसपटक ४७ जना सांसदहरूले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। तीमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्। सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।
साथै, सांसदहरूलाई औपचारिक वा आफ्नै सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ।
प्रकाशित मिति: २०२६-०३-२६ , समय : १०:०५:३९ , ३ घन्टा अगाडि