अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा मालपोतका ८ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही खबर , ११४  पटक हेरिएको

काठमाडौं, चैत १८

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन ८ जना अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद रावकुर्मीसहितका व्यक्तिहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूले आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ मार्फत उठेको राजस्व दाखिला नगरी हिनामिना गरेको पाइएको छ।

यस्तै, तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायका हकमा उनका अंशियार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी प्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

अनुसन्धानबाट २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको देखिएको आयोगले जनाएको छ। आरोपितहरूविरुद्ध फरक–फरक विगो माग दाबी गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : २०:१८:५७ , ३ घन्टा अगाडि