रुपन्देही खबर , १०४ पटक हेरिएको
गैडहवा, चैत २१
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ५ को आयोजना तथा नेपाल विकास केन्द्र, रुपन्देहीको सहजीकरणमा सक्षम आमा समूहका पदाधिकारी तथा सदस्यहरूका लागि दुई दिने सशक्तिकरण तालिम सम्पन्न भएको छ । महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यले चैत १५ र १६ गते सञ्चालन गरिएको उक्त तालिममा ६० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

वडा नं. ५ का वडाध्यक्ष विजय कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उहाँले समाज रूपान्तरणमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले महिलाहरूलाई सशक्त बनाउनु नै समग्र समाजलाई सशक्त बनाउनु हो भन्दै यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर, सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गरी समुदाय विकासमा योगदान दिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिमको सहजीकरण गर्दै सामाजिक अभियन्ता सरस्वती आचार्यले महिला अधिकार, लैङ्गिक समानता, नेतृत्व विकास, आत्मविश्वास वृद्धि, समूह व्यवस्थापन, निर्णय प्रक्रिया, आर्थिक सशक्तिकरण लगायतका विविध विषयमा प्रशिक्षण दिनु भएको थियो । आचार्यले महिलाहरूले आफ्नो अधिकारबारे जानकार भई अन्याय, विभेद र हिंसाविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिदै समूहमा सहकार्य, एकता र समन्वयको महत्वबारे पनि प्रकाश पार्नुभएको थियो ।

त्यस्तै, तालिमको सहजीकरण गर्दै पत्रकार उर्मिला यादवले आमा समूहको भूमिका, जिम्मेवारी तथा समुदायमा महिला सहभागिताको आवश्यकताबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । उहाँले आमा समूहहरू सामाजिक परिवर्तनका आधार स्तम्भ भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार तथा महिला सशक्तिकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। साथै उहाँले नेतृत्व विकासका लागि आत्मविश्वास, सञ्चार सीप र निर्णय क्षमताको विकास आवश्यक हुने कुरा जोड दिनुभयो ।

तालिममा सहभागी महिलाहरूले पनि कार्यक्रम उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता तालिमले आफूहरूमा नयाँ सोच, आत्मविश्वास र समाजमा सक्रिय भूमिका निर्वाह गर्ने प्रेरणा मिलेको बताएका थिए। साथै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग समेत गरेका थिए।
कार्यक्रममा वडा सदस्य सइबुन निशा मुसलमान, बिना कुमारी धोवी, महमुद आलम फकिर, नन्दलाल पासी, वडा सचिव शिवचरण मुराउ, कम्प्युटर अपरेटर सुनिल केवट, अभिभावक निसार अहमद खान लगायत स्थानीय सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम समापन गर्दै आयोजकले यस्ता सशक्तिकरण कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति: २०२६-०४-०४ , समय : ०९:२९:२० , ३ घन्टा अगाडि