रुपन्देही खबर , १४९ पटक हेरिएको
भैरहवा,चैत २४
रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका बिशाल यादव, भारतको महाराजगंज, पर्सामलिक ग्राम बिसुनपुरवाका १८ वर्षिय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोली खटिएको थियो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।
लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार गर्दा प्रहरी घाईते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनु भयो । उहाका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ । बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भिम अस्पताल भैरहवामा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२६-०४-०७ , समय : ०८:३८:२४ , ३ घन्टा अगाडि