रुपन्देही खबर , ६८ पटक हेरिएको
भैरहवा, चैत २६
रुपन्देहीमा प्रहरीले क्यासिनोभित्र जुवा खेल्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित CMG Club Casino मा मंगलबार राति करिब १० बजे चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जुवा खेलाउने र खेल्ने गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा २ जना जुवा खेलाउने र ४ जना जुवा खेल्दै गरेको अवस्थामा फेला परेका थिए। जुवा खेलाउने कार्यमा संलग्न सर्लाही बरहथवा नगरपालिका–८ का ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ का ४१ वर्षीय अजय के.सी रहेका छन्।
त्यस्तै, जुवा खेल्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका–१२ का ३५ वर्षीय गोबिन्द शर्मा, वडा नं. ९ का बासुदेव गौतम, सोही स्थानका कृष्ण गौतम तथा वडा नं. ११ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद २ लाख १७ हजार ३९० रुपैयाँ, भारतीय नगद ३ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन १ लाख २५ हजार (आईसी), विभिन्न कम्पनीका ६ थान मोबाइल सेट तथा ७ गड्डी तास बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०४-०९ , समय : १०:०५:४६ , ३ घन्टा अगाडि