निर्माण उद्योगमा ‘आपतकाल’घोषणा गर्न लुम्बिनी निर्माण व्यवसायी संघको माग

रुपन्देही खबर , १३५  पटक हेरिएको

भैरहवा, वैशाख २

इन्धनजन्य तथा निर्माण सामग्रीमा भइरहेको तीव्र मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनमा भएको निरन्तर मूल्यवृद्धिले निर्माण व्यवसायीहरू गम्भीर संकटमा परेको बताउनुभयो ।

उहाँका अनुसार इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीमा समेत लगातार मूल्य बढ्नुका साथै बजारमा अभाव देखिँदा निर्माण कार्य प्रभावित भएको छ । यसले समग्र निर्माण उद्योग नै ठप्प हुने अवस्था सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो । साथै देशका विभिन्न स्थानमा देखिएका क्रसर उद्योगसम्बन्धी समस्याले निर्माण क्षेत्र थप प्रभावित बनेको संघले जनाएको छ ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले व्यवसायीहरूले यसअघि केन्द्रीय महासंघमार्फत सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गर्नुभयो ।

उहाँले ठेक्का सम्झौतामा हुने मूल्य समायोजन नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्कका आधारमा गरिने व्यवस्था व्यवहारमा प्रभावकारी नभएको बताउँदै बजारमा सामग्रीको मूल्य बढे पनि इन्डेक्समा घटेको देखिने अवस्थाले व्यवसायीहरू झनै मारमा परेको उल्लेख गर्नुभयो ।
निर्माण कार्य तीव्र हुने यस समयमा इन्धन तथा सामग्रीको चर्को मूल्यवृद्धि र अभावले व्यवसायीहरूमा ठूलो आर्थिक भार परेको भन्दै संघले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गरी तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

संघले हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन सम्भव नभएको उल्लेख गर्दै ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ तत्काल जारी गर्न, सबै अवधिका ठेक्कामा समय थप तथा मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

यस्तै, गरि बुटवल शाखाका अध्यक्ष बुद्धिराज थापाले पछिल्लो समय निर्माण व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको बताउँदै सरकारको बेवास्ताका कारण धेरै आयोजना प्रभावित भएको धारणा राख्नुभयो । उहाँले लागतअनुसार भुक्तानी नहुँदा व्यवसायीहरू ऋणमा डुब्ने अवस्था आएको उल्लेख गर्दै तत्काल व्यावहारिक समाधान ल्याउन सरकारसँग माग गर्नुभयो ।

प्रकाशित मिति: २०२६-०४-१५ , समय : २१:३७:२५ , ३ घन्टा अगाडि