रुपन्देही खबर , ५६ पटक हेरिएको
काठमाडौँ,वैशाख ४
आज देशभर आमाको मुख हेर्ने पर्व (मातृ सम्मान दिवस) श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने यो पर्वमा जन्मदात्री आमालाई सम्मान गर्ने परम्परा रहिआएको छ। आजका दिन छोराछोरीहरू बिहानै उठेर नुहाई आफ्नी आमालाई राम्रो लुगा लगाइदिने, मीठा–मीठा तथा तागतिला परिकार खुवाउने र आशिर्वाद लिने चलन छ। आमा जीवित नभएकाहरूले भने तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्ने गर्छन्।
सनातन वैदिक शास्त्रअनुसार प्रत्येक व्यक्तिले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नुपर्ने उल्लेख छ। धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्त्व स्वर्गभन्दा पनि ठूलो बताइएको छ।
नौ महिनासम्म गर्भमा राखी सन्तानलाई जीवन दिने भएकाले आमाको स्थान अत्यन्त उच्च मानिन्छ। यस अवसरमा मातातीर्थ क्षेत्रमा बिहानैदेखि मेला लागेको छ, जहाँ आफ्नी आमालाई गुमाएका व्यक्तिहरूले विशेष पूजा–आराधना गर्ने परम्परा छ।
प्रकाशित मिति: २०२६-०४-१७ , समय : ०९:०३:४३ , ३ घन्टा अगाडि