रुपन्देही खबर , १४८ पटक हेरिएको
रुपन्देही, वैशाख १३
आफ्नै बाबुको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडा निवासी २४ वर्षीय सुनिल थारु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख ११ गते दिउँसो करिब २ बजेको समयमा सुनिलले आफ्नै बाबु ५८ वर्षीय जंगबहादुर थारुलाई घरको आँगनमै हातले घाँटी अठ्याई गम्भीर घाइते बनाएका थिए। घटनापछि उनी फरार भएका थिए।
घाइते जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपरा अस्पताल लगिएकोमा सोही दिन दिउँसो करिब ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि फरार रहेका सुनिल थारुलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०४-२६ , समय : २२:००:१५ , ३ घन्टा अगाडि