रुपन्देही खबर , ९८ पटक हेरिएको
भैरहवा, वैशाख १८
रुपन्देहीमा क्रिकेटको उत्साह फेरि एकपटक चुलिने भएको छ । जिल्लाकै प्रतिष्ठित क्लबस्तरीय प्रतियोगिता ‘पञ्चकन्या रुपन्देही सुपर लिग २०८२–०८३’ आजदेखि भैरहवामा सुरु हुँदैछ । रुपन्देही क्रिकेट संघको आयोजनामा हुने यो प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै क्रिकेट संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
संघका अध्यक्ष हरि बहादुर थापाका अनुसार, स्थापनाकालदेखि नै निरन्तरता पाउँदै आएको ‘रुपन्देही सुपर लिग’ यसपटक नयाँ पहिचानका साथ ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ को रूपमा प्रस्तुत गरिएको हो । प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनका खेलहरू वैशाख १८ आज देखि जेठ ९ गतेसम्म सञ्चालन हुनेछन्। यसअघि ‘बी’ डिभिजनका खेलहरू २०८२ चैत १७ देखि ३० गतेसम्म सम्पन्न भइसकेका छन्, जहाँबाट देवदह क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा उक्लिएका छन्।
‘ए’ डिभिजनमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले १ लाख एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५० हजार १ रुपैयाँसहित समान सम्मान प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फ म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्था र व्यवसायीहरूको साथ रहेको छ। विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता वी.के. ज्वेलर्स, म्यान अफ द म्याच सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, म्यान अफ द सिरिज होटल स्टार होलिडे, उत्कृष्ट ब्याटर तथा बलर व्यवसायी रवि कुमार रौनियार र उत्कृष्ट उदयमान खेलाडी प्रतिक ट्रेड लिंकले प्रायोजन गरेका छन्। प्रतियोगिता भर प्रयोग हुने बलको व्यवस्था भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी अमित कुमार गुप्ताले गर्नुहुनेछ ।
३७ खेल समेटिने यस प्रतियोगिताको अनुमानित खर्च करिब १५ लाख रुपैयाँ रहेको संयोजक प्रथम पराजुलीले जानकारी दिनु भएको छ । उक्त खर्च प्रायोजन र सहभागी टोलीहरूको प्रवेश शुल्कबाट जुटाइनेछ। प्रतियोगिताको मुख्य प्रायोजन पञ्चकन्या ग्रुपले गरेको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष निरज प्रताप खाण तथा पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहु लगायतले प्रतियोगिताले रुपन्देहीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन ।
प्रकाशित मिति: २०२६-०५-०१ , समय : ०९:२८:४७ , ४ घन्टा अगाडि