रुपन्देही खबर , १०४ पटक हेरिएको
भैरहवा,वैशाख १९
भैरहवामा आजदेखि सुरु भएको ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको खेलमा न्यू होराइजन क्रिकेट क्लबले विजयी सुरुआत गरेको छ। शनिबार सम्पन्न खेलमा न्यू होराइजनले बुटवल राइनोजलाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको हो।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बुटवल राइनोज २३ ओभरमै अलआउट हुँदै ७६ रनमा सीमित भयो। टोलीका लागि उत्तम थापा मगरले ३२ रन तथा शिव कुँवरले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। चार खेलाडी शून्य रनमै आउट भएपछि राइनोज दबाबमा परेको थियो।
न्यू होराइजनका प्रिन्स पालले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा ३ मेडन राखी मात्र ६ रन खर्चेर ६ विकेट लिए। उनी खेलका प्रमुख नायक बने। त्यस्तै महेश भर र विप्रसन केसीले समान २–२ विकेट हात पारे।
७७ रनको सामान्य लक्ष्य पछ्याएको न्यू होराइजनले १४.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। संगम पाण्डेले अविजित २९ रन बनाए भने अमर मिश्राले २१ र ड्रस सुनारले १२ रनको योगदान दिए।
बुटवलका सुमित थापाले २ विकेट तथा प्रमिस पुनले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि प्रिन्स पाल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद १ हजार २ सय रुपैयाँ प्राप्त गरे।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख १ रुपैयाँ तथा उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै ‘म्यान अफ द सिरिज’लाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १ हजार २ सय रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिल र विके ज्वेलर्स मुख्य प्रायोजक रहेका छन्। साथै सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक तथा भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्तालगायतले सहयोग गरेका छन्।
प्रकाशित मिति: २०२६-०५-०२ , समय : १८:२१:१० , ३ घन्टा अगाडि