आर्थिक संकटमा मिडिया : अबको बाटोबारे बहस

रुपन्देही खबर , ६५  पटक हेरिएको

बुटवल, बैशाख २८

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनअन्तर्गत आइतबार “आर्थिक संकटमा मिडिया, अबको बाटो” विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले विशेषगरी कोभिडपछि मिडिया क्षेत्र गम्भीर आर्थिक संकटमा परेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर ले कोभिडअघिको तुलनामा अहिले मिडिया सञ्चालन चुनौतीपूर्ण बनेको बताउनु भएको छ । उहाले समयअनुसार मिडियाले आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै पत्रकारिताको मूल मर्मबाट विचलित हुन नहुने धारणा राख्नु भयो ।

“पत्रकारिता के हो भन्ने विषयबाट बहस सुरु गर्नुपर्छ । पत्रकार युट्युबर होइनन्,” उहाले भन्नु भयो, “अहिले अझ सशक्त पत्रकारिता गर्ने बेला आएको छ । पत्रकारिता हिजो, आज र भोलि पनि रहिरहन्छ ।”

त्यस्तै बुटवल टुडेका प्रबन्ध सञ्चालक नवराज कुँवरले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने नीतिले निजी सञ्चारमाध्यमलाई कमजोर बनाएको बताउनु भएको छ । उहाले यस्तो व्यवस्थाले भ्रष्टाचारलाई समेत प्रोत्साहन गरेको टिप्पणी गर्नु भयो । “विज्ञापन बिना मिडिया कसरी चल्छ ? सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिनु भनेको भ्रष्टाचारलाई बढावा दिनु हो,” उहाले भन्नु भयो ।

त्यसैगरी नेपालगञ्ज दैनिकका सञ्चालक झलक गैरेले वर्तमान सरकारी नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै निजी क्षेत्रलाई निरुत्साहित बनाइएको बताउनु भएको छ । उहाले मिडियालाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक रहेको धारणा राख्नु भयो ।

कोभिडपछि आर्थिक क्षेत्र प्रभावित भएसँगै सञ्चारमाध्यममा विज्ञापन घटेको र त्यसको प्रत्यक्ष असर मिडियामा परेको उहाको भनाइ थियो ।
त्यस्तै न्यूज एजेन्सी नेपालका अध्यक्ष कृष्ण पौडेल ले मिडिया हाउस जति बलियो र स्थायी हुन्छ, त्यति नै समाचार एजेन्सी पनि बलियो हुने बताउनु भएको छ । उहाले संकटको समयमा मिडियालाई दिगो रूपमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय मोडेल अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो। कार्यक्रमको सहजीकरण पत्रकार नरेश केसीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०५-११ , समय : ०९:१५:२४ , २ घन्टा अगाडि