वेष्टर्न क्रिकेट क्लब को शानदार जित : प्रज्जवल थापा र रन्जित खड्का चम्किँदा बुद्ध क्लब ९ विकेटले पराजित

रुपन्देही खबर , ५९  पटक हेरिएको

भैरहवा, वैशाख २८

रुपन्देही क्रिकेट संघ को आयोजनामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब ले बुद्ध क्रिकेट क्लब लाई ९ विकेटले पराजित गर्दै सहज जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुद्ध क्रिकेट क्लब २६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटियो ।

बुद्धलाई सस्तैमा रोक्न वेष्टर्नका अभिषेश गौतम ले ४ विकेट लिए भने सुझाव थापा ले ३ विकेट लिए । यस्तै सन्देश थापा र कलम मुसलमान ले १–१ विकेट हात पारे । बुद्धका लागि मिथलेश यादव र दिलसाद अली ले समान १५–१५ रन बनाए भने गौतम केसी ले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

७८ रनको लक्ष्य पछ्याएको वेष्टर्नले ८ ओभर ४ बलमै १ विकेट गुमाएर ७९ रन बनाउँदै जित हात पार्यो । वेष्टर्नका प्रज्जवल थापा ४७ रनमा अविजित रहे भने रन्जित खड्का ले नटआउट २८ रन बनाए । बुद्धका विपिन शर्मा ले १ विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिषेश गौतम ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ तथा उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै ‘म्यान अफ द सिरिज’ लाई १५ हजार रुपैयाँ तथा बेष्ट ब्याटर, बेष्ट बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक प्रथम पराजुली ले जानकारी दिए ।

प्रकाशित मिति: २०२६-०५-११ , समय : २२:४२:५७ , २ घन्टा अगाडि