मर्चवारमा कुखुरा तस्करी मौलायो, स्थानीयले लखेट्दा कुखुरा र मोटरसाइकल छाडेर तस्कर फरार

रुपन्देही खबर , ८२  पटक हेरिएको

रुपन्देही, वैशाख २९

रुपन्देहीको दक्षिणी सीमावर्ती मर्चवार क्षेत्रमा भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गतिविधि पछिल्लो समय झन् बढ्दै गएको पाइएको छ । त्रिलोकपुर, परसिया, बोगडी लगायतका सीमावर्ती नाकाबाट दिनदहाडै कुखुरा तस्करी भइरहेको भन्दै स्थानीयवासीले सुरक्षा निकायप्रति गम्भीर प्रश्न उठाएका छन् ।

स्थानीयका अनुसार आइतबार लु २ प ५७६७ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याइँदै गरेको कुखुरा मायादेवी गाउँपालिका–स्थित बरेवा क्षेत्रमा स्थानीयले नियन्त्रण गर्न खोजेका थिए । स्थानीयले लखेट्न थालेपछि तस्करहरू मोटरसाइकल र कुखुरा घटनास्थलमै छाडेर फरार भएका हुन् । घटनास्थलबाट ठूलो परिमाणमा कुखुरा बरामद भएको जनाइएको छ ।

स्थानीयवासीका अनुसार मर्चवार क्षेत्रमा केही समूहले लामो समयदेखि संगठित रूपमा कुखुरा तस्करी गर्दै आएका छन् । उनीहरूले सीमावर्ती ग्रामीण बाटो प्रयोग गरी राति मात्रै होइन, दिनको समयमा समेत खुलेआम रूपमा कुखुरा भित्र्याउने गरेको आरोप लगाइएको छ ।

स्थानीयले प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । उनीहरूका अनुसार सीमावर्ती क्षेत्रमा हुने यस्तो अवैध कारोबार रोक्न प्रभावकारी निगरानी नहुँदा तस्करहरूको मनोबल झन् बढ्दै गएको छ ।

स्थानीयका भनाइअनुसार एक तस्करले आफूहरू “नसिम खानका लागि” कुखुरा ओसारपसार गर्दै आएको बताएका थिए । ती व्यक्तिले इलाका प्रहरी कार्यालय मझगावा, मर्यादपुर प्रहरी चौकी, छपिया प्रहरी चौकी तथा सशस्त्र प्रहरीसम्म “सेटिङ” मिलाएर मासिक रकम बुझाउने गरेको दाबी गरेको स्थानीयको भनाइ छ ।
यद्यपि, उक्त आरोपबारे सम्बन्धित सुरक्षा निकायबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

यता, बेथरी प्रहरी चौकीका वरिष्ठ सहायक निरीक्षक बालबहादुर घर्ती मगरले तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताउनुभयो । उहाँले आइतबार बरामद गरिएको कुखुरा र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको जानकारी दिनुभयो ।

सीमावर्ती क्षेत्रमा बढ्दो अवैध तस्करी नियन्त्रण गर्न कडा निगरानी, नियमित गस्ती तथा संलग्नमाथि निष्पक्ष कारबाही आवश्यक रहेको स्थानीयवासीको माग छ ।

प्रकाशित मिति: २०२६-०५-१२ , समय : १७:४६:१८ , २ घन्टा अगाडि