पञ्चकन्या रूपन्देही सुपर लिग : वेष्टर्न क्रिकेट क्लबको शानदार जीत

रुपन्देही खबर , ४०  पटक हेरिएको

भैरहवा, जेठ २

भैरहवामा जारी ‘पञ्चकन्या रूपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबार सम्पन्न खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ। वेष्टर्नले जेआर क्रिकेट क्लब लाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण जीत हात पारेको हो। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जेआर क्रिकेट क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो।

जेआरका लागि गगन अधिकारीले सर्वाधिक ५५ रन बनाए भने विमल भट्टराईले २८ रनको योगदान दिए। विशाल भुसालले २१, दिनेश विष्टले १९ तथा अनमोल श्रीस थापाले १७ रन जोडे। बलिङतर्फ वेष्टर्नका सन्देश थापा र अभिशेष गौतमले समान ३–३ विकेट लिए। कलम अली मुसलमानले २ विकेट हात पार्दा सुझाव थापाले १ विकेट लिए।

१ सय ७२ रनको लक्ष्य पछ्याएको वेष्टर्न क्रिकेट क्लबले ३४ ओभरमै ७ विकेट गुमाएर १ सय ७५ रन बनाउँदै शानदार जीत निकाल्यो। टोलीको जीतमा देव खनालले ५८ रनको महत्वपूर्ण इनिङ खेले भने मिर्नाल गुरुङले ३२ रन बनाए। अभिशेष गौतमले २१ रन जोड्दा प्रज्जवल थापा र कलम अली मुसलमानले समान १९–१९ रनको योगदान दिए।

जेआरका तर्फबाट बलिङमा दिनेश विष्टले ३ विकेट लिए भने कृष्ण पन्थीले २ विकेट हात पारे। अशोक बोहरा र अनमोल श्रीस थापाले समान १–१ विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिशेष गौतम ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १ हजार २ सय रुपैयाँ प्राप्त गरे। रूपन्देही क्रिकेट संघ को आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ तथा उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने बेस्ट ब्याटर, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने खेल संयोजक प्रथम पराजुली ले जानकारी दिए। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १ हजार २ सय रुपैयाँ प्रदान गरिँदै आएको छ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिल ले विजेता पुरस्कार तथा विके ज्वेलर्स ले उपविजेता पुरस्कार प्रायोजन गरेका छन्। त्यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक तथा व्यवसायी अमित कुमार गुप्ता ले पनि प्रतियोगितालाई सहयोग गरेका छन्।

प्रकाशित मिति: २०२६-०५-१६ , समय : २३:३३:१० , २ घन्टा अगाडि