रुपन्देही खबर , ५८ पटक हेरिएको
बर्दघाट, जेठ ८
पश्चिम नवलपरासीको बर्दघाटमा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बिहान करिब ११ः२० बजेको समयमा बर्दघाट नगरपालिका–४ शिवशक्ति टोल निवासी ४३ वर्षीय विजय पौडेलले आफ्नै घर अगाडि बन्दुक पड्काएको तथा साथीसमेत लिएर जंगलतर्फ गएको भन्ने सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । सूचनापछि जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय बर्दघाटबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी सहायक निरीक्षक जनार्दन यादव र प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा खटिएको ११ सदस्यीय टोलीले बर्दघाट नगरपालिका–४ मर्चाघोला स्थित पारिजात सामुदायिक वन क्षेत्रबाट विजय पौडेल र बर्दघाट–२ चिसापानी निवासी ५० वर्षीय बखत रानालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले विजय पौडेलको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको जनाएको छ । यस्तै बखत रानाको साथबाट एक झोलाभित्र राखिएको ७४ वटा छर्रा र आधा–आधा बट्टाका दुई वटा बारुद बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय बर्दघाटबाट करिब चार किलोमिटर उत्तर–पश्चिम क्षेत्रमा पर्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-२२ , समय : ११:२७:४५ , १४ घन्टा अगाडि